close

'काठमाडौंको फोहर पठाइदिनुस् न सर'

'काठमाडौंको फोहर पठाइदिनुस् न सर'

Trulli
ADVERTISEMENT

दाङ- 'सर नमस्कार, म पालिकाखबर काठमाडौंबाट बोल्दैछु । बायो ग्याँस प्लान्टको बारेमा केही कुरा गर्न सक्छु ?' भन्न नपाउँदै घोराही उपमहानगरपालिकाका डाइरेक्टर अफ इन्जिनियर युवराज पौडेलले 'काठमाडौंबाट हो भने फोहर पठाइदिनुस् । यहाँ फोहर अभाव छ । ग्याँस उत्पादननै छैन' भनेर कुराकानी सुरु गरे । 

पहिलो संवादबाटै फोहर अभावका कारण बायो ग्याँस प्लान्टबाट क्षमताअनुसार ग्याँस उत्पादन नभएको पुष्टि हुन्छ । क्षमताअनुसार ग्याँस उत्पादन नहुँदा २२ करोड लगानी गरेको नेपाल ऊर्जा विकास कम्पनी (नेर्को)को तनाव अनुमान गर्न सकिन्छ ।

नेर्कोले दैनिक एक हजार ५०० घरमा पाइप लाइनबाट ग्याँस पठाउने गरी घोराहीमा २०७६ सालमा बायो ग्याँस प्लान्ट निर्माण सुरु गरेको थियो । २०७५ मंसिर ५ गते घोराही उपमहानगरपालिका, वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र नेर्कोबीच त्रिपक्षीय सम्झौता भएको थियो । सोही सम्झौताअनुसार २२ करोड लगानीमा सम्पन्न उक्त योजनामा विश्व बैंकको चार करोड अनुदान रहेको उपमहानगरपालिकाले जनाएको छ । 

निर्माण सम्पन्न भइन्जेल समस्या थिएन । तर निर्माण सकिएपछि  समस्या सुरु भयो  । उक्त प्लान्टको ग्याँसका लागि दैनिक ३० टन फोहर आवश्यक पर्ने भए पनि हाल करिब ६०० किलोमात्र फोहर उत्सर्जन हुने गरेको उपमहानगरपालिकाका डिई युवराज पौडेलले पालिकाखबरलाई बताए । बङ्गुर पालन गर्नेले दाना घर-घरबाट उठाउने गरेकाले पनि ग्याँसका लागि फोहर कम भएको घोराही उपमहानगरपालिका सरसफाइ व्यवस्थापन शाखाका प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिए ।

दैनिक ३० टन फोहर संकलन भएमा प्लानले दैनिक १५ सय घरमा पाइप लाइनबाट ग्याँस पुर्‍याउन सक्थ्यो । अर्थात् दैनिक ५५ वटा सिलिन्डर भर्न सकिन्थ्यो तर हालको फोहर क्षमताले ५० घरलाई मात्र ग्याँस पुर्‍याउन सकिने उपमहानगरपालिकाले जनाएको छ ।

घोराही उपमहानगरपालिकाले तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाबाट फोहर ल्याउने योजना बनाएको छ । तर औपचारिक रूपमा काम अघि बढेको छैन । 

करोडौँ लगानीको ग्याँस प्लान्टले क्षमताअनुसारको ग्याँस उत्पादन गर्न नसकेपछि 'बालुवामा पानी'जस्तै भएको छ । यस विषयमा घोराही उपमहानगरपालिकाले तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाबाट फोहर ल्याउने योजना बनाएको छ । तर यसबारे औपचारिक रूपमा काम अघि बढेको छैन । 

यता नेर्कोले भने ग्याँस उत्पादनको लागि पशुपालन गर्न आवश्यक जग्गा उपलब्ध गराउन घोराही उपमहानगरपालिकासँग आग्रह गरिसकेको छ । ग्याँस उत्पादनका लागि फोहर अपुग भएपछि पशुपालनका लागि जग्गा माग गरेपछि घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले यस विषयमा आफू सकारात्मक रहेको प्रतिक्रिया दिए । 

‘फोहर कम भएको र गोबरका लागि पशुपालन गर्न भनेर जग्गा माग गर्नु भएको छ अहिलेसम्म जग्गाको बारेमा कुनै पनि निर्णय गरिएको छैन,’ नगर प्रमुख चौधरीले भने । कार्यपालिकाको बैठकबाट निर्णय गरेर अगाडि बढ्ने उनको भनाइ छ । पशुपालन गरेर गोबर थप भएपछि पूर्ण क्षमतामा ग्याँस उत्पादन हुने र नगरका छाडा पशुलाई समेत व्यवस्थापन गर्न सहयोग पुग्ने उपमहानगरपालिकाको विश्वास छ । पशुपालनका लागि नेर्कोले एक बिघा जग्गा माग गरेको छ । ग्याँस प्लान्ट साढे तीन बिघा जग्गामा बनेको छ । 

यसका लागि घोराही उपमहानगरपालिकासँग ग्याँस प्लान्ट क्षेत्रमा जग्गा माग गरिएको नेपाल ऊर्जा विकास कम्पनीले जनाएको छ । जग्गा उपलब्ध भएमा बजार क्षेत्रमा छाडा रहेका पशु पालन गर्नेछ । साथै उन्नत जातका भैँसी पालन गर्नेसमेत कम्पनीको योजना छ । 

फोहर नपाउँदा ग्याँस उत्पादन कम भएपछि अहिले गरुवा गाउँका ३४ घरमा मात्र ग्याँस वितरण गरिएको छ । दुई हजार घनमिटरको ग्याँस प्लान्टबाट फोहोर अभावमा कारण पूर्ण क्षमतामा ग्याँस उत्पादन हुन नसकेको कम्पनीले जनाएको छ । 

दैनिक ५५ सिलिन्डर ग्याँस र २० टन कम्पोस्ट मल उत्पादन हुने प्लान्टको क्षमता छ । नेपाल उर्जा विकास कम्पनीले २० वर्षका लागि सम्झौता गरेको हो । सम्झौता अनुसार २० वर्षसम्म कम्पनीले आफैँ ग्याँस उत्पादन गरेर बिक्री गर्नेछ भने कारोबारको ५ प्रतिशत घोराही उपमहानगरपालिकालाई रकम दिनु पर्नेछ ।

२० वर्षपछि कम्पनीले सबै भौतिक संरचना घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ । घोराही उपमहानगरपालिका-१६ मा करौँती डाँडा (गरुवा गाउँ)मा रहेको ल्यान्डफिल्ड साइटमा उक्त प्लान्ट निर्माण गरिएको हो ।