close

जग्गा भाडामा लिएर फोहर व्यवस्थापन

जग्गा भाडामा लिएर फोहर व्यवस्थापन

Trulli
ADVERTISEMENT

झापा - बुद्धशान्ति गाउँपालिकाले जग्गा भाडामा लिएर ठोस फोहरमैलाको व्यवस्थापन गर्ने भएको छ । गाउँपालिकाबाट उत्सर्जन हुने फोहरलाई स्थायी तथा व्यवस्थित रुपमा व्यवस्थापन गर्नको लागि भाडामा लिन लागेको हो । 

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेलका अनुसार फोहरलाई दीर्घकालीन रुपमा व्यवस्थापन गर्नको लागि जग्गा भाडामा लिन लागेको हो । फोहर व्यवस्थापनको लागि संघीय सरकारबाट विशेष अनुदानमार्फत ९० लाख रुपैयाँ बजेट विनियोजन भएको उनले पालिकाखबरलाई सुनाए । 

उनका अनुसार गाउँपालिकाले हाल हप्ताको दुई दिन फोहर उठाउँदै आएको छ । ग्रामीण भेग भएकोले खासै फोहर नहुने उनले सुनाए । ‘ग्रामीण भेगको पालिको हो । कुहिने फोहर घरमै व्यवस्थापन हुन्छ । नकुहिने फोहर मात्रै केही समस्या हो,’ उनले भने । 

गाउँपालिकाले संकलन गरेको फोहरलाई अस्थायी रुपमा ल्याण्ड फिल्ड बनाएर व्यवस्थान गर्दै आएको उनले सुनाए । ‘फोहर संकलन गरी अस्थायी ल्याण्डफिल्डमा राख्छौँ । फोहरलाई खाल्डो खनेर पुर्छौँ,’ उनले भने । 

जग्गाको व्यवस्थापन भएसँगै गाउँपालिकाले थप व्यवस्थित गर्ने उनले सुनाए । जग्गा भाडामा लिनको लागि स्थानीय बासिन्दासँग सूचना जारी अनुरोधसमेत गरेको उनले जानकारी दिए । बिहीबारसम्म म्याद भएको सूचनामा केही आवेदन परेको उनले बताए । 

फोहर व्यवस्थापनको लागि गाउँपालिकाले बस्ती र विद्यालयबाट ५०० मिटर टाढा भएको, मोटरबाटो भएको, कुनै विवाद नभएको र मोही नभएको जग्गा भाडामा लिने उनले सुनाए । गाउँपालिकाले २० वर्षको लागि ५ कठ्ठा जग्गा भाडामा लिने उनले बताए ।