close

धवलागिरि-१ को यस्तो निर्णय : धूमपानमा कठोर, मद्यपानमा लचक

धवलागिरि-१ को यस्तो निर्णय : धूमपानमा कठोर, मद्यपानमा लचक

Trulli
ADVERTISEMENT

म्याग्दी । धवलागिरि गाउँपालिका- १ गुर्जागाउँमा तास खेल्न र धूमपान गर्न प्रतिबन्ध लगाइएको छ । 

आइतबार बसेको वडासमितिको बैठकले जुवातास, धुमपान सेवन प्रतिबन्ध लगाइएको वडाध्यक्ष झकबहादुर छन्त्यालले पालिका खबरसँग बताए । 

वडाध्यक्ष छन्त्यालका अनुसार गुर्जामा तास, चुरोट, खैनी सेवनलाई पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ भने बिहान ५ देखि साँझ ५ बजेसम्म मद्यपान गर्न पाइने छैन । बालबालिकामा धूमपान र मद्यपानको लत देखिएकाले यस्तो निर्णय गर्न बाध्य भइएको अध्यक्ष छन्त्यालले बताए । 

साथै निर्णय उल्लंघन गर्नेलाई पहिलो पटक सम्झाउने र दोस्रो पटक १०० रुपैयाँ र तेस्रो पटकदेखि दोब्बरका दरले जरिवाना बढ्दै जाने वडाध्यक्ष छन्त्यालले जानकारी दिए । जरिवानाबाट संकलन भएको रकमलाई समुदायको काममै खर्च गरिनेसमेत वडाध्यक्ष छन्त्यालले बताएका छन् । 

वडाको निर्णयले स्थानीय महिला समूह र आमा समूहका प्रतिनिधिहरू उत्साहित भएका छन्‌ । छन्त्याल जातिको बाहुल्यता रहेको गुर्जा गाउँमा २६५ घरधूरी छन् ।