close

अन्नपूर्ण गाउँपालिकाको खर्च चालुतर्फ ७७ र पुँजीगततर्फ ७८ प्रतिशत

अन्नपूर्ण गाउँपालिकाको खर्च चालुतर्फ ७७ र पुँजीगततर्फ ७८ प्रतिशत

Trulli
ADVERTISEMENT

म्याग्दी । अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा करिब १६ किलोमिटर सडकको नयाँ मार्ग खोलेको छ । 

सडक निर्माण र स्तरोन्नतिमा जोड दिएको गाउँपालिकाका विभिन्न ठाउँमा एक वर्षको अवधिमा १५ दशमलव ९४ किलोमिटर सडकको मार्ग खोलिएको पूर्वाधार शाखाले जनाएको छ । 

गाउँपालिकाका इन्जिनियर ईश्वरबहादुर भण्डारीले ३२० मिटर सडकमा ग्राभेल, ५४२.५३ मिटर सोलिङ, २३४ मिटर सडकमा आरसिसी ढलान र कजवे निर्माण, छ वटा कल्भर्ट, ५७ दशमलव चार मिटर नाली निर्माण भएको जानकारी दिए । 

खिवाङ–घराम्दी र राम्चे–घोडेपानी जोड्ने सडकको मार्ग निर्माण तथा महभिर–हिस्तान–राम्चे सडक स्तरोन्नतिलाई प्राथमिकता दिइएको थियो । घोडेपानीबाट फूलबारी र राम्चेबाट आहालडाँडाबाट सडक निर्माण थालिएको छ । खिवाङतर्फबाट घराम्दी जोड्ने सडकको मार्ग खोल्ने उद्देश्यले सडक निर्माण गरिएको छ । 

दुई हजार ८७४ दशमलव आठ घनमिटर ग्यावियन पर्खाल र १३२ दशमलव ५३ घनमिटर रिटेनिङ पर्खाल निर्माण भएको छ । वडा नं ४ र ५ मा दुई÷दुई र १ मा एकवटा झोलुङ्ग पुल निर्माण गरिएको छ ।

गाउँपालिकाको कार्यक्रमबाट एक हजार २२४ दशमलव पाँच मिटर नयाँ पदमार्ग निर्माण र दुई हजार आठ सय ९६ दशमलव ७५ मिटर पदमार्ग स्तरोन्नति भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुई हजार पाँच सय मिटर पदमार्ग निर्माण गरिएको छ । यस वर्ष १९ घरमा नयाँ धारा जडान, ११ हजार ४४७ दशमलव छ मिटर खानेपानी लाइन विस्तार, ३३ हजार लिटर क्षमताका ट्याङ्की निर्माण, ढल निकासका लागि सात सय २६ मिटर पाइपलाइन विस्तार र १२ वटा च्याम्बर बनाइएको छ । 

सामुदायिक तथा विद्यालय, मन्दिर, सभाहल र शौचालय २४ वटा निर्माण गरिएका तथा १३ वटाको मर्मत भएको छ । सरकारी अनुदानमा मनसुनजन्य विपद् प्रभावितका आठ घर निर्माण गरिएका छन् । दुईवटा प्रवेशद्वार र एकवटा पार्क निर्माण गरिएको छ । पूर्वाधारसम्बन्धी १६४ वटा योजना रहेकामा १६१ वटा सम्पन्न भएका गाउँपालिकाका सूचना अधिकारी हरिकृष्ण आचार्यले बताए । 

उनका अनुसार निर्माण व्यवसायीले काम नगरेपछि ५० लाख विनियोजन भएको खिवाङ खानेपानी आयोजनाको ठेक्का रद्द गरिएको छ । तीन योजनाको ठेक्का सम्झौता गरिएको थियो । लेखापाल प्रेम पराजुलीले गत आर्थिक वर्षमा चालुतर्फ ७७ दशमलव ९६ र पूँजीगततर्फ ७८ दशमलव शुन्य छ प्रतिशत प्रगति भएको जानकारी दिनुभयो ।