close

‘नर्कको यात्राजस्तो बाटो, रिसाहा डाक्टर बस्ने अस्पताल’

अधिकांश बस्ती चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने माडी नगरवासी बर्षाैंंदेखि संघर्षरत छन् । उनीहरु निकुञ्जभित्रको बस्ती हुनु नै विकासको बाधक ठानिरहेका छन् । माडीमा बिजुली बलेको केही बर्ष मात्रै भयो । बाटोको हविगत उस्तै छ । अन्य पूर्वाधारको त के कुरा । माडीवासीले नयाँ नयाँ सरकार त पाए तर समस्याको समाधान कहिल्यै पाएनन् ।

‘नर्कको यात्राजस्तो बाटो, रिसाहा डाक्टर बस्ने अस्पताल’

अधिकांश बस्ती चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने माडी नगरवासी बर्षाैंंदेखि संघर्षरत छन् । उनीहरु निकुञ्जभित्रको बस्ती हुनु नै विकासको बाधक ठानिरहेका छन् । माडीमा बिजुली बलेको केही बर्ष मात्रै भयो । बाटोको हविगत उस्तै छ । अन्य पूर्वाधारको त के कुरा । माडीवासीले नयाँ नयाँ सरकार त पाए तर समस्याको समाधान कहिल्यै पाएनन् ।

Trulli
ADVERTISEMENT

चितवन- प्रेम आचार्य माडी नगरपालिकाको  वडा नं. ९ का स्थानीय बासिन्दा हुन् । बिहीबार माडी नगरपालिकाले सार्वजनिक सुनुवाई आयोजना गर्दैछ भन्ने थाहा पाएर कार्यक्रमस्थल पुगेका आचार्यले सुरुमै माईक समाते । उकुसमुकुस पीडा व्यक्त गर्ने बल्लतल्ल अवसर पाएका आचार्यले माडीको बाटो कहिल्यै नबनेको प्रति रोष प्रकट गरे । 

‘निकुञ्ज जंगल हुँदै आउने बाटोमा, कहिले आकाशे पुल, कहिले सुरुङ मार्ग, कहिले केमिकलयुक्त बाटोको सपना मात्र देखाए’ केही आक्रोशित हुँदै आचार्यले अनुभव पोखे, ‘एकपटक मोटरसाईकलमा यात्रा गर्दा गरुड पुराणमा सुने अनुसारको नर्कको यात्रा गरेको भान हुन्छ, के यो (बाटो) सुधार हुँदैन ?’

चारैतिर जंगलले घेरिएको माडी नगरपालिकामा  स्थानीय वन्यजन्तुबाट आतंकित हुँदा पनि यसका लागि बजेट बिनियोजन हुन नसक्नु दुःखद् रहेको उनले बताए। 

विकासबाट वडा नं. ९ उपक्षित रहेको गुनासो उनको थियो। ‘संघीय सरकारले माडी सरकारलाई यथोचित बजेट किन दिएन? उनले नगरपालिकामा बजेट कम आउनुको कारण माग गरे। 

आचार्यको सवालको सम्बोधन गर्दै  नगरपालिकाकी नगरप्रमुख तारादेवी महतोले जंगलको बाटोलाई धुलोरहित बनाउने, स्तरीकरण गर्ने सबैको साझा आवाज रहेको तर कानुनी बाधा अड्चनले काममा समस्या निम्त्याउने गरेको बताइन्।

‘संघ, प्रदेशका माननीयज्युसँगै हामी जनप्रतिनिधि, स्थानीयवासि मिलेर दलबलसहित प्रधानमन्त्रीसमक्ष समस्या लिएर ठूलै आशासहित पुगेका थियौँ। तर, बजेट नआउँदा त्यो आशा निराशामा बदलिएको छ।’ उनले सुनाइन्। तर चुप लागेर नबसी फेरिपनि केन्द्रलाई निरन्तर घच्घच्याउन प्रतिबद्ध रहेको उनले बताइन्। 

नगरपालिकाले वन्यजन्तुलाई वस्तिमा आउन नदिन वडाहरुले पर्खाल लगाउने काम गरेको बताइन्। तर योजनाबद्ध रुपमा  काम गर्न नसकेको उनको स्विकारोक्ती छ। ‘वडा/वडामा थोरै-थोरै गरेर काम भएका छन् तर देखिएका छैनन्,’ उनले भनिन्।
नगरपालिका आफैं आर्थिक रुपमा सबल नभएकाले संघ र प्रदेशको मुख ताक्नु पर्ने अवस्था रहेको अवगत गराउँदै उनले बजेट घटेर आएकाले समस्या रहेको बताइन्। 

माडी नगरपालिका वडा नं ७ जगन्नाथपुरीका रमाकान्त सापकोटाले ‘निस्सा कहाँ छ ?’ भनेर प्रश्न गरे।  उनले प्रश्न राखे, ‘हाल बागमती प्रदेश सांसद रहेका संस्थापक मेयर ठाकुर प्रसाद ढकालले निस्सा उठाउनुभएको थियो, त्यो निस्सा कहाँ छ ? माडी नगरभित्रै छ की कहाँ ? हामीले दिएको पैसा कहाँ छ ?’ 

माडी नगरका कर्मचारीलाई तालिम दिन  सुझाव दिँदै उनले सेवाग्राहीले सेवा नपाएको गुनासो राखे। उनले भने ‘स्थायी कर्मचारीका हकमा प्रमुख प्रशासकीय अधिकृत तपाईंले तालिम दिनुस्, पार्टीका मानिस भर्ति गरिएको हो भने मेयरले तालिम दिनुस् । लेखा समितिलाई गुनासो छ, १० दिन धाउँदा पनि काम हुँदैन । उपभोक्ता समिति गठन गर्न नगरपालिकामा कति दिन आउने ? उपभोक्ता समितिलाई  भ्रष्टाचारी बनाउन खोजेको हो ? १० पटक आउँदा/जाँदा कति खर्च भयो, त्यो कसले दिन्छ ?’                               

उनले नगरपालिकाको बघौडा अस्पतालले नराम्रो व्यवहार गर्ने गरेको गुनासो गरे। उनले भने, ‘ अस्पताल कसरी नमुना भयो? उपचार गर्न गयो, डाक्टर रिसाउँछ । यस्तो पनि अस्पताल हुन्छ ? समयभन्दा अगाडि नै ओपिडी सेवा बन्द गरेर हिँड्छन्? यसमा नगरपालिकाको ध्यान जाओस्।’

पछिल्ला समयमा बेलुका खाना खाने बेलैमा बत्ती जाने समस्या भोगिरहेको उनले सुनाए। ‘गाँस टिप्न लागेको छ, बत्ती जान्छ। केन्द्रमा फोन गरेर बुझ्दा प्राविधिक समस्या रहेको बताए। नगरपालिकाले वैकल्पिक विद्युतीय लाइन राख्ने विषयलाई किन धकेलिरहेको छ?’ उनले प्रश्न गरे।

सार्वजनिक सुनुवाईमा सापकोटाको प्रश्न सुनिसकेपछी नगरप्रमुख महतोले तयार गरेको निस्सा बाँडिसकेको जानकारी दिइन्। उनले जग्गा वर्गिकरणको काम भने ढिला भइरहेको बताइन्। ‘भूमी आयोगले कामको गति नलिँदा ढिला भएको छ तर यसको लागि नगरपालिकाले बजेट छुट्याएको छ। भूमी आयोगलाई किन ढिलो भएको सोध्दा चाडैँ टोली पठाउने भन्नु भएको छ। नगरपालिकाले गर्नुपर्ने सबै काम गर्न तयारी अवस्थामा नै छ,’ उनले भनिन्। 

लेखा शाखामा भएको ढिलासुस्तीको विषयमा प्रशासकीय अधिकृतसहित तुरुन्तै  कर्मचारीलाई बैठक बोलाएर यो विषयमा विस्तृत रुपमा जानकारी लिने उनले बताइन्। 

बघौडा अस्पतालको जनगुनासोप्रति ध्यानाकर्षण भएको उनले बताइन्। उनले भनिन्, ‘स्वास्थ्य संस्था सेवा दिने संस्था हो। बिरामीलाई बोलेर, हँसाएर सेवा दिनुपर्ने हुन्छ। यो विषयमा हामी अस्पतालसँग कुरा गर्ने छौँ।’ 

बेला बेलामा बत्ती जाने समस्या माडीमा मात्र नभई देशैभरिको समस्या रहेको उनले सुनाइन्। ‘केही दिनअघि विद्युत प्राधिकरणका केन्द्र र प्रदेशका प्रतिनिधि आएर इआएमको सार्वजनिक सुनुवाई गर्नुभएको छ। सुनुवाईपछि वैकल्पिक तार विछ्याउने कामका लागि टेण्डर ल्याउने प्राधिकरणले जानकारी दिएको छ।’ उनले समयसमयमा बत्ती जाने समस्याको प्रश्नमा जवाफ दिइन्। 

यस्तै अर्का स्थानीय बासिन्दा श्रीकृष्ण दवाडीले उपभोक्ता समितिको समस्या राखे। ‘सडक पिच गर्ने भनेर उपभोक्ता समिति गठन गरियो। समितिले पिच गर्ने भनेर रकम पनि जम्मा गर्यो। उक्त रकम राजस्व खातामा गइसकेपछि बजेट प¥यो भने समितिले त्यो रकम फिर्ता पाउँदैन। यो काम किन गरियो?’

उनले १० लाखसम्मका भुक्तानी वडाबाटै गर्न सकिए राम्रो हुने भन्दै नगरपालिकालाई सुझाव दिए। ‘वडामा भुक्तानी सम्भव नभए जुन जुन शाखा हो त्यही शाखागत रुपमा लेखाको भुक्तानी गर्न पाए सबै  फाइल गएर चाङ लाग्ने थिएन,’ उनले भने। 

बाढी पहिरोमात्र नभइ आगलागी, वन्यजन्तुको कारण विपद् पर्ने उनको भनाइ छ। विपद् पर्ने बित्तिकै निश्चित रकम राहतस्वरुप जनतालाई उपलब्ध गराएमा राम्रो हुने उनले धारणा राखे। 

उनले अघिल्लो कार्यकालका जनप्रतिनिधिसँग यो कार्यकालका जनप्रतिनिधिहरुको कामको तुलना जनताले गरिरहेको बताए। उनले भने, ‘वडाध्यक्षहरु आफ्नो वडामा बजेट लैजानमा मात्र लालाहीत हुनुभयो । पाँचवर्षमा नगरपालिकाको गौरवशाली योजना छुट्याउने दायित्व कार्यपालिकाको हो। तर तपाई (जनप्रतिनिधि)हरुले अहिलेसम्म नगर गौरब योजना दिन सक्नुभएको छ जस्तो लाग्दैन।’

दवाडीका सवाल र सुझावलाई सम्बोधन गर्दै नगर प्रमुख महतोले दुईवर्ष अगाडि उपभोक्ता समिति र नगरपालिकाले संयुक्त रुपमा पैसा उठाएर काम गर्ने कार्यपालिकाले निर्णय गरेको अवगत गराइन्। समितिका अध्यक्षले स्वस्फुर्त रुपमा रकम जम्मा गरेर नगरपालिकाको आम्दानी खातामा जम्मा गराएको उनको भनाइ छ।

उनले भनिन्, ‘अहिलेको कार्यपालिकाले जुन/जुन स्थानको सडक पिच गर्न उपभोक्ता समितिले पैसा उठाएका छन्। त्यहाँ/त्यहाँ सम्बोधन हुने गरेर नगरपालिकाको वहुवर्षिय योजनाअनुसार बजेट विनियोजन गरिएको छ।’

वडाबाट भुक्तानी गर्न सकिने विषयलाई सुझावको रुपमा लिएको उनको भनाइ छ। कस्तो विपद्मा कतिसम्म राहत दिने भनेर कार्यविधि भर्खरै तयार भएको बताउँदै यसलाई परिचालन गर्न अब समस्या नरहने उनले बताइन्। 

माडीले पूरा गर्न नसकेका अधुरा योजना धेरै भएको र यसलाई सम्बोधन गर्नुपर्ने भएकाले नगर गौरबको योजना लिन नसकेको उनले स्परोक्ती दिइन्। उनी भन्छिन्, ‘पिच बाटोमै खर्च गर्नेगरी बजेट ल्याइएको छ ।'