close

गुनासो र सुझाव लिन सार्वजनिक सुनुवाई गर्दै रामप्रसादराई

गुनासो र सुझाव लिन सार्वजनिक सुनुवाई गर्दै रामप्रसादराई

Trulli
ADVERTISEMENT

भोजपुर - रामप्रसादराई गाउँपालिकाले माघ २६ गते सार्वजनिक सुनुवाई गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा पहिलो पटक आगामी शुक्रबार सार्वजनिक सुनुवाइ गर्न लागेको हो । 

गाउँपालिकाको उपाध्यक्ष वीरेन्द्र राईका अनुसार पालिकाले वडा नम्बर ३ भुल्केस्थित वडा कार्यालयमा बिहान ११ बजेदेखि सार्वजनिक सुनुवाई गर्न लागेको हो । स्थानीय बासिन्दाको गुनासो र सुझाव संकलन गर्नको लागि गाउँपालिकाले सार्वजनिक सुनुवाइ गर्न लागेको उनले पालिकाखबरलाई बताए । 

सार्वजनिक सुनुवाईमा पालिकाबाट सञ्चालन हुने विभिन्न सेवाबारे छलफल हुने छ । सार्वजनिक सुनुवाइमा वडा कार्यालयबाट प्रदान हुने सेवा, कार्यपालिकाको सेवा, जनप्रतिनिधि र कर्मचारीले सेवाग्राहीसँग गरिने व्यवहार, पूर्वाधार विकास निर्माणका कार्य, कृषि तथा पशुपन्छि, विद्यालयको वातावरण र पठनपाठनको अवस्थाबारे छलफल हुने छ । 

यसैगरी स्वास्थ्य चौकीबाट बिरामीलाई गरिने उपचार र परामर्श सेवा, लक्षित वर्गको लागि अवलम्बन गरिएको कार्यक्रम, खेलकुद कार्यक्रम, कार्यलय तथा बजार सरसफाई कार्यक्रम र गाउँपालिकाको विषय र क्षेत्रसंग सम्बन्धित अन्य विविध विषयमा छलफल हुने जनाइएको छ । सो सार्वजनिक कार्यक्रममा सहभागी हुनका लागि स्थानीय राजनीतिक दल, विद्यार्थी, शिक्षक तथा स्थानीय बासिन्दालाई गाउँपालिकाले अनुरोध गरेको उनले बताए ।