close

गुणस्तरीय विकासका लागि फागुन मसान्तभित्र योजना सम्झौता गरिसक्न निर्देशन

गुणस्तरीय विकासका लागि फागुन मसान्तभित्र योजना सम्झौता गरिसक्न निर्देशन

Trulli
ADVERTISEMENT

नुवाकोट– दुप्चेश्वर गाउँपालिकाले फागुन मसान्तभित्र योजना सम्झौता गर्न निर्देशन दिएको छ । गाउँपालिकाभित्र चालु आर्थिक वर्षमा योजना सञ्चालनका लागि बाँकी रहेका उपभोक्ता समिति तथा ठेकेदारलाई फागुन मसान्तभित्र योजना सम्झौता गर्न निर्देशन दिएको हो । सम्झौता भएका योजनाको जेठ मसान्तसम्म अन्तिम भुक्तानी दिइसक्ने गरी गाउँपालिकाले योजना बनाएको हुँदा यस्तो निर्देशन दिएको पालिकाले जनाएको छ । 

गत बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले फागुन मसान्तसम्म गाउँपालिकामा सञ्चालन हुने कामको योजना सम्झौता गर्ने तथा जेठ मसान्तभित्र फरफारक गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष शङ्कर बहादुर थापाले बताए । पालिकाको पूँजीगत खर्चको गुणस्तर बढाउन योजनाहरुको सम्झौता फागुन मसान्तभित्रमा गरिसक्न निर्देशन दिइएको उनले जानकारी दिए । 

उनका अनुसार पालिका क्षेत्र पहाडी भूभागमा पर्ने भएकाले वर्षायाममा काम गर्न कठिनाइ हुन्छ । आर्थिक वर्षको अन्त्यतिर काम सुरु हुँदा हतारमा काम हुने र गुणस्तरीयता समेत नहुने भएकाले फागुन मसान्तसम्म योजना सम्झौता र जेठ मसान्तसम्म फरफारक गर्ने निर्णय गरेको हो । 

समयमै योजना सम्पन्न भएमा योजनाको अनुगमन र भुक्तानी समयमै गर्न सकिने उनले पालिकाखबरलाई बताए । ‘ठेक्कामार्फत सञ्चालन हुने ठूला बजेट र महत्वपूर्ण योजनाहरुको लगभग सम्झौता भइसक्यो । उपभोक्ता समितिबाट हुने साना योजनाहरुको केही सम्झौता हुन बाँकी छ ।’ 

जेठ/असारमा हतारो गर्नुभन्दा अहिलेदेखि नै गुणस्तरीय काम गर्न थाल्न लागिएको उनले बताए । गाउँपालिकाले तोकेको समय पछाडि सम्झौता तथा भुक्तानीका लागि पेश हुने योजनामा गाउँपालिका जिम्मेवार नरहने समेत गाउँपालिकाले जनाएको छ ।