close

ताप्लेजुङका ३ स्थानीय तहमा बस्न थाले डाक्टर

ताप्लेजुङका ३ स्थानीय तहमा बस्न थाले डाक्टर

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- फुङ्लिङ नगरपालिकामा रहेको जिल्ला अस्पतालसहित ताप्लेजुङका तीन स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा एबीबीएस डाक्टर बस्न थालेका छन् ।


जिल्ला अस्पतालमा एक स्थायी र छात्रवृत्ति कोटाको सेवा सम्पन्न गर्न आएका दुई गरी तीन जना एबीबीएस डाक्टर छन् । छात्रवृति कोटामा अध्ययन गरेकाहरूले कम्तीमा दुई वर्ष दुर्गम जिल्लाहरूमा अनिवार्य सेवा दिनुपर्ने प्रावधान छ ।


छात्रवृत्ति कोटामा कार्यरत दुईमध्ये एक जनाको समयसीमा भने यही १५ कात्तिकमा सकिँदै छ । ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सोनिङ लामाले अन्य कसैलाई नपठाए ताप्लेजुङ अस्पतालमा दुई जना मात्र चिकित्सक रहने बताए ।


अघिल्लो आर्थिक वर्षमै आठौँ तहको मेडिकल अधिकृत माग गरेको सिरिजङ्घा गाउँपालिकाले यस आवमा भने मागअनुसारको दरबन्दी पूर्ति गरेको छ । आठौँ तहको मेडिकल अधिकृतले पाउने नेपाल सरकारले तोकेको तलबमानमा गाउँपालिकाले ५० हजार रुपैयाँ प्रतिमहिना प्रोत्साहन भत्ता थप गर्ने गरी गाउँपालिकाले सेवा करारमा मेडिकल अधिकृत भर्ना गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए ।


उता, मेरिङ्देन गाउँपालिकाले सेवा करारमा मेडिकल अधिकृत नियुक्त गरेको छ । दुईवटा प्राथमिक स्वास्थ्य केन्द्र ताप्लेजुङमा मैवाखोला गाउँपालिकाको ढुंगेसाँघुस्थित प्राथमिक स्वास्थ्य केन्द्र भनेमा भने लामो समयदेखि चिकित्सक छैनन् ।