close

मार्मा गाउँपालिकामा तयार भयाे कोभिड अस्पताल

मार्मा गाउँपालिकामा तयार भयाे कोभिड अस्पताल

Trulli
ADVERTISEMENT

दार्चुला- दार्चुलाको मार्मा गाउँपालिकामा अस्थायी कोभिड अस्पताल उद्घाटन गरिएको छ । कोरोना भाइरसबाट संक्रमितहरूको उपचारका लागि गाउँपालिकाले लटिनाथमा निर्माण गरेको पाँच शय्याको कोभिड- १९ कोरोना अस्पतालको गाउँपालिका अध्यक्ष जमनसिंह धामीले उद्घाटन गरेका हुन् ।


स्वास्थ्य मन्त्रालयले देशभर रहेका सबै स्थानीय तहहरूमा कोभिड- १९ कोरोना अस्पताल बनाउनका लागि बजेट विनियोजन गरेपछि मार्मा गाउँपालिकाले अस्पताल निर्माण गरी उद्घाटन गरेको हो । जिल्लाका छवटा स्थानीय तहले अझै अस्पतालको उद्घाटन गर्न सकेका छैनन् ।


मार्मा गाउँपालिकाले भने अस्पतालको सम्पूर्ण निर्माण कार्य पूरा गरी औपचारिक रूपमा सेवा सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष धामीले जानकारी दिए । 


गाउँपालिकाले वडा नम्बर- २ लटिनाथ स्वास्थ्य चौकीमा कोभिड अस्पताल बनाएको हो । अस्पतालमा अक्सिजनसहित औषधिहरूको समेत व्यवस्था गरिएको छ । अस्पतालमा गाउँपालिकाले एक जना डाक्टर, दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी नियुक्त गरेको छ ।


संघीय सरकारले अस्पताल नभएका दार्चुलाका सातवटा स्थानीय तहहरूमा अस्थायी कोभिड अस्पताल निर्माणका लागि १० लाख रुपैयाँ बजेट पठाइसकेको छ ।


दार्चुला जिल्लाका नौवटा स्थानीय तहमध्ये सातवटा स्थानीय तहमा पाँच बेडका अस्थायी कोभिड अस्पताल निर्माणका लागि संघीय सरकारले बजेट पठाएको स्वास्थ्य कार्यालयका दार्चुलाका जन स्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिए ।


दार्चुलाको महाकाली  नगरपालिका र शैल्यशिखर नगरपालिकाबाहेकका सबै स्थानीय तहमा पाँच बेडका अस्थायी कोभिड अस्पताल निर्माण हुने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएकाले कोरोनाका बिरामीहरूको उपचारका लागि अस्थायी कोभिड अस्पताल निर्माणको अवधारणा ल्याइएको हो ।


अस्थायी कोभिड अस्पातल सञ्चालनका लागि आएको १० लाख रुपैयाँमध्ये स्थानीय तहहरूले पाँच लाख रुपैयाँ बेडलगायतका सामग्री खरिदमा खर्च गर्नुपर्नेछ भने ५० हजार रुपैयाँ बराबरको औषधि खरिद गर्नुपर्नेछ । यस्तै, चार लाख ५० हजार रुपैयाँ जनशक्ति परिचालनमा खर्च गर्नुपर्नेछ । 


तीन महिनाका लागि सञ्चालन गर्नुपर्ने भएकाले स्थानीय तहमै भएका स्वास्थ्य संस्थाहरूमा यी अस्पताल सञ्चालन गर्नुपर्नेछ ।