close

अछामका स्थानीय तहमा स्वाब संकलन ठप्प 

अछामका स्थानीय तहमा स्वाब संकलन ठप्प 

Trulli
ADVERTISEMENT

अछाम- अछाममा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ । कोरोना संक्रमित निको भएर घर फर्केपछि सक्रिय संक्रमितको संख्या शून्य भएको स्वास्थ्य कार्यालय अछामले जानकारी दिएको हो ।


स्वास्थ्य कार्यालयका सूचना अधिकारी देव जोशीका अनुसार आइतबारसम्मको रिपोर्टअनुसार जिल्लामा कोरोनाका सक्रिय संक्रमित शून्य छन् ।

 
हालसम्म जिल्लाभर १३ हजार २ सय २७ जनाको स्वाब संकलन गरिएको थियो, जसमध्ये १ हजार ६ सय ६८ जनामा कोरोना संक्रमण देखिएको थियो भने ११ हजार ४ सय ९४ जनाको नेगेटिभ रिपोर्ट आएको थियो । 


संक्रमितमध्ये सबैभन्दा बढी सदरमुकामसमेत रहेको मंगलसेन नगरपालिकामा ४ सय ५० जना र कम ढकारी गाँउपालिकामा ३१ जना रहेका थिए ।

 

यस्तै, कमलबजार नगरपालिकाका १ सय ३ जना, तुर्माखाँदका ७२ जना र पञ्चदेवल विनायकका १ सय २ जना संक्रमित थिए । 


यस्तै, बान्नीगढी जयगढ गाउँपालिकाका १ सय ८३ जना, मेल्लेखका १ सय ४७ जना, रामारोशनका १ सय ८४ जना, साँफेबगरका ३ सय जना र चौरपाटीका ९६ जना संक्रमित थिए ।

 
सबै १ हजार ६ सय ६३ जना निको भएर घर फर्केसँगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितका संख्या शून्य भएको हो । 

 

हालसम्म जिल्लामा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरपाटीका १ जना, बान्नीगढी जयगढका २ जना, रामारोशनका १ जना र साँफेबगरका १ जना छन् । 

 

स्थानीय तहमा स्वाब संकलन हुनै छाड्यो 

 

अछामका १० स्थानीय तहमा स्वाब संकलन हुनै छाडेको छ । सुरुमा स्वाब संकलन गरी कोरोना परीक्षण भए पनि हाल छिटफुटबाहेक स्वाब संकलन भएको पाइँदैन । 

 

अछामको एक मात्र कोरोना परीक्षणका लागि स्थापना भएको कमलबजार पीसीआर प्रयोगशालामा न्यून संख्यमा मात्र स्वाब आउने गरेको प्रयोगशालाले जनाएको छ । 

 

स्वाब संकलन नहुँदा कोरोना संक्रमणको दर घटेको हुनसक्ने अनुमान गरिएको छ ।