close

बडीगाडमा भोजभतेरले फैलायो कोरोना : संक्रमण घटाउन कडाइ

बडीगाडमा भोजभतेरले फैलायो कोरोना : संक्रमण घटाउन कडाइ

Trulli
ADVERTISEMENT

बागलुङ– कोरोना संक्रमितलाई उपचारमार्फत निको पार्ने र थप फैलन नदिन बडिगाड गाउँपालिकाले रणनीति बनाएको छ । कोरोनाको दोस्रो लहरबाट बडिगाड सबैभन्दा बढी प्रभावित पालिका हो । यहाँ ९ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या पनि उच्च छ ।

 

विशेषगरी भोजभतेर गरेका स्थानमा बढी संक्रमित भएकाले ती स्थानका सबै नागरिकको पिसिआर गरिसक्ने अभियान चलाएको स्वास्थ्य शाखा प्रमुख चुडामणि कँडेलले बताए ।

 

सबैको पिसिआरसँगै अनावश्यक प्रवेशलाई पूर्ण रूपमा रोक लगाउने निर्णय पालिकाले गरिसकेको छ । पालिका प्रवेश गर्ने मुख्य नाकाहरूमा अस्थायी प्रहरी पोस्ट राखेरै कडाइ गरिएको हो । 

 

गुल्मी, गलकोट र बुर्तिवाङतर्फका नाका बन्द गरेर आउजाउमा कडाइ गरिएको कँडेलले बताए । पालिकाले खोजी, उद्धारसहित उपचार पद्धतिलाई पनि तीव्र बनाएको छ । घरघरमा पुगेर संक्रमित खोजपड्ताल गर्ने, संक्रमण भए उपचारको पहुँचमा ल्याउने कामसमेत गरेको
हो ।

 

‘अहिले घरघरमा संक्रमितको खोजी भइरहेको छ । सामान्य बिरामी भए पनि उपचार र पिसिआर गराउने काममा लागेका छौँ,’ कँडेलले भने, ‘आउजाउ ठप्प पारेर खोजपड्ताल गरिएकाले साता दिनमै संक्रमण नियन्त्रणमा आउनेछ ।’ 

 

झुलेडाँडामा २÷३ दिन बिराएर पिसिआर भइरहेको छ । यहाँका ६८ जना अहिले पनि सक्रिय संक्रमित छन् । लक्षण देखिएका र अन्य प्रकारका बिरामीसमेतलाई उपचारको दायरामा ल्याइएको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले बताए ।

 

‘अधिकांशको पिसिआर गराउने, सामान्य लक्षण देखिए तत्काल आइसोलेसनमा लैजाने काम भइरहेको छ,’ पाइजाले भने, ‘जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र स्वयंसेवकले रातदिन नभनी काम गरेर नियन्त्रणको प्रयास भइरहेको हो ।’ 

 

यहाँको त्रिभुवन माविमा २० र वडा नम्बर ५ को कराँते प्रशिक्षण केन्द्रमा १० गरी ३० वटा अक्सिजनसहितको बेडसमेत सञ्चालनमा ल्याएको छ । ती बेडमा बिरामीलाई राखेर उपचार भइरहेको छ । जटिल समस्या आए धौलागिरि अस्पताल पठाउने काम भएको कँडेलले जानकारी दिए । 

 

शाखाले १ डाक्टर, १ हेल्थ असिस्टेन्ट, २ जना नर्ससहितको जनशक्ति निरन्तर खटाएको छ । ग्वालीचौर हेल्थपोस्टमा नियमित बिरामीको उपचार भइरहेको छ । गाउँपालिकाले ३ वटा एम्बुलेन्ससमेत तयारी बनाएर राखेको छ । 

 

कार्यालयका प्रमुख सुरज गुरौसहितको टोलीले संक्रमण फैलिएमध्ये बडिगाड र ताराखोला गाउँपालिका तथा गलकोट नगरपालिकामा स्थलगत निरिक्षण पनि गरेको छ । 

 

‘आवश्यक औषधी, स्वास्थ्य र सुरक्षा सामग्री अभाव हुन दिएका छैनौँ,’ गुरौंले भने, ‘विकास निर्माणभन्दा स्वास्थ्य सुरक्षामा लगानी बढाउनुपर्ने देखिन्छ ।’ 

 

पालिकाले सामाजिक सञ्जाल प्रयोग गरेर सहयोग संकलन गरिरहेको छ । ‘प्रवासमा बसेका दाजुभाइले सहयोग गरेर राहत कोषमा लगाएका छन्,’ अभियानका सदस्य राजन पाइजाले भने, ‘आएको रकमलाई पारदर्शी रूपमा स्वास्थ्य सामग्री खरिद, बिरामीको उपचार र मृतकको राहतमा लगाएका छौँ ।’