close

रुकुमकोटका निजी क्लिनिकमा छड्के, कागजात नपुगेकालाई सञ्चालनमा रोक

रुकुमकोटका निजी क्लिनिकमा छड्के, कागजात नपुगेकालाई सञ्चालनमा रोक

Trulli
ADVERTISEMENT

रुकुम पूर्व– रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ र ६ रुकुमकोटमा सञ्चालित निजी अस्पताल तथा मेडिकलमा छड्के अनुगमन गरिएको छ । कोरोना संक्रमणको अवस्थामा निजी क्लिनिकबाट भइरहेको औषधोपचारबारे जानकारी लिन अस्थायी जिल्ला सदरमुकाम रुकुमकोटमा रहेका निजी अस्पताल तथा मेडिकल क्लिनिकमा अनुगमन गरिएको हो । 

 

जिल्ला प्रशासन कार्यालय र सिस्ने गाउँपालिकाको संयुक्त आयोजनामा रुकुमकोटका ६ वटा निजी अस्पताल तथा मेडिकल क्लिनिकमा अनुगमन गरिएको छ ।

 

कोरोना संक्रमण फैलिरहेको अवस्थामा निजी क्लिनिकमा अन्य रोगका बिरामी उपचारका लागि आउने र क्लिनिकमा स्वास्थ्य जाँच नगरी औषधी वितरण हुन सक्ने र म्याद नाघेका औषधी बिक्री वितरणमा रोक लगाउन अनुगमन गरिएको जिल्ला अनुगमन समिति संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र बुढाक्षेत्रीले बताए । 

 

निजी अस्पताल तथा मेडिकल क्लिनिक अनुगमनका क्रममा केही अस्पताल तथा मेडिकलमा म्याद नाघेका औषधी फेला पर्नुका साथै केही मेडिकलमा आवश्यक कागजात नभएको पाइएको बुढाक्षेत्रीले जानकारी दिए । उपभोग्य म्याद गुज्रिन लागेका औषधी तुरुन्त व्यवस्थापन गर्न सञ्चाकलाई निर्देशन गरिएको छ । 

 

उपचारका लागि बिरामी आएपछि स्वास्थ्य जाँच गरेर मात्र औषधी दिन तथा कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीलाई रुकुम पूर्व अस्पतालमा पठाउन निर्देशन दिइएको सहायक प्रजिअ बुढाक्षेत्रीले बताए । 

 

सिस्ने वडा नम्बर ६ छिप्रीदहमा सञ्चालित रुक्मिणी हस्पिटल प्रालि, मनज्ञा सिटी हस्पिटल, डिग्रे साइकुमारी मेडिको फर्मामा अनुगमन गर्दा केहीलाई औषधीको बिलमा मूल्य परिमाण खुलाएर लेख्न र कर चुक्ता प्रमाणपत्र ३ दिनभित्र उपलब्ध गराउन निर्देशन दिइएको उनको
भनाइ छ । 

 

३ वटा क्लिनिक सञ्चालनमा रोक 

 

सिस्ने वडा नम्बर ५ मा सञ्चालित ३ मेडिकल तथा फार्मेसीलाई आवश्यक कागजात नजुटाएसम्म सञ्चालनमा रोक लगाइएको छ । चोक बजारमा सञ्चालित कमलदह फार्मेसी, अर्काे नाम नखुलेको मेडिकल र रुमालबारामा रहेको नाम नखुलेको मेडिकललाई आवश्यक कागजात लिएर ३ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा आउन भनिएको छ । 

 

सहायक प्रजिअ बुढाक्षेत्रीको संयोजकत्वमा गरिएको अनुगमनमा सिस्ने गाउँपालिका उपाध्यक्ष गोवद्र्धन बुढा मगर, उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रकाश मल्ल, रुकुम पूर्व अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. गणेश चौधरी, स्वास्थ्य कार्यालयका खोप अधिकृत मनोज श्रेष्ठ, सिस्ने गाउँपालिका स्वास्थ्य संयोजक सुरेन्द्रप्रसाद यादव, सुरक्षाकर्मीलगायत सहभागी थिए ।