close

मुगुमा बढ्दै ज्वरो, रुघाखोकीका बिरामी

स्वास्थ्य चौकीमा सिटामोल पाउन मुस्किल

मुगुमा बढ्दै ज्वरो, रुघाखोकीका बिरामी

स्वास्थ्य चौकीमा सिटामोल पाउन मुस्किल

Trulli
ADVERTISEMENT

मुगु- पछिल्लो समय मौसम परिवर्तनसँगै मुगुका ग्रामीण क्षेत्रमा ज्वरो, रुघाखोकीका बिरामी बढ्न थालेका छन् । ज्वरो, रुघाखोकीका लक्षण देखा परेपछि कोरोना संक्रमणको आशंकाले स्थानीय त्रसित भएका छन् ।


मुगुका ४ स्थानीय तहका ग्रामीण भेगमा स्थानीयलाई ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने र नाकबाट सिंगान बग्ने, शरीर दुख्नेजस्ता लक्षण देखा परेको हो । 


मुगुमा कोरोना संक्रमण दर बढे पनि परीक्षण हुन सकेको छैन । कहीँ-कतै रिपोर्ट कोरोना पोजेटिभ आइहाल्छ कि भन्ने डरले कतिपय स्थानीय परीक्षण नगरेर घरमा बसिरहेका छन् ।

 

अधिकांशले परम्पराग स्थानीय जडीबुटीबाटै उपचार गराइरहेका छन् । मौसम परिवर्तनसँगै ज्वरो आउने, रुघाखोकी लाग्ने लक्षण देखापरेको सोरु गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ । 

 

त्यस्ता लक्षण देखिएका बस्तीमा गाउँपालिकाबाट सामान्य सिटामोल, एन्टिबायटिक औषधी पठाई सामान्य स्तरमा चेकजाँच गर्ने तयारी भइरहेको सोरु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कर्णबहादुर सावतले बताए । सोरुको वडा नम्बर ४ रावलवाडाको दलित बस्तीका ५० घरधुरीमा पनि यस्तै खाले लक्षण देखा परेका छन् । 


गाउँपालिकाले उक्त गाउँमा स्वास्थ्यकर्मी खटाए पनि पालिकाबाट सञ्चालित स्वास्थ्य चौकीमा औषधी अभाव देखिएको छ । आर्थिक अवस्था कमजोर भएका दलित विपन्न परिवारलाई निजी मेडिकलबाट औषधी जोहो गर्न मुस्किल भएपछि स्थानीय स्तरमा पाइने कटुको, चिराइतोजस्ता बहुमूल्य जडीबुटीको औषधी बनाएर उपचार गराइरहेको स्थानीय चामे नेपालीले बताए ।

 

स्वास्थ्य चौकीमा सिटामोल पाउन मुस्किल

सोरु गाउँपालिकाले आव २०७७/७८ मा ससर्त अनुदानसहित गरेर ३३ लाख रुपैयाँको औषधी खरिद गरेको छ । पुनः ५ लाख गरी ३८ लाख रुपैयाँ बराबरको औषधी खरिद गरिएको, केही स्वास्थ्य संस्थामा वितरण गरिसकेको र केही गाउँपालिकाको स्टोरमा रहेको पालिका अध्यक्ष लोकबहादुर शाहीले बताए । 

 

गाउँपालिकाले लाखौँ मूल्यमा खरिद गरेर ल्याएका औषधीमध्ये पालिकाबाट सञ्चालित स्वास्थ्य चौकीमा मुस्किकले मात्र सिटामोल पाइने गरेको छ ।


सरकारबाट ७० प्रकारका औषधी निःशुल्क रूपमा पाउने प्रावधान रहे पनि सोरुका स्वास्थ्य चौकीमा हालसम्म पुग्न सकेको छैन । स्वास्थ्य चौकीमा औषधी नहुँदा महँगो मूल्य तिरेर निजी मेडिकलबाट किनेर उपभोग गर्नुभन्दा आफ्नै वनपाखामा पाइने जडीबुटी बनाएर उपचार गरिरहेको स्थानीय सूचना नेपालीले बताइन् ।