close

फार्मेसीसँग सेटिङ मिलाएर सेवाग्राहीलाई पिरोल्ने जिपीका चार कर्मचारी बर्खास्त

फार्मेसीसँग सेटिङ मिलाएर सेवाग्राहीलाई पिरोल्ने जिपीका चार कर्मचारी बर्खास्त

Trulli
ADVERTISEMENT

तनहुँ– जिपी कोइराला राष्ट्रिय श्वास–प्रश्वास उपचार केन्द्रले आफ्ना ४ कर्मचारीलाई बर्खास्त गरेको छ । पोखराको निजी ल्याबसँगको सहकार्यमा अस्पताल परिसरमै सेवाग्राहीसँग महँगो शुल्क असुलेर पिसिआर परीक्षण गराउने र निजी फार्मेसीमा औषधी खरिद गर्न बाध्य पार्ने कर्मचारीलाई अस्पताल प्रशासनले बर्खास्त गरेको हो । 

 

अस्पतालमा कार्यरत फार्मेसिस्ट सुदन पन्त, ल्याब टेक्निसियन आनन्दप्रसाद ढुंगाना, रेडियोग्राफर विधान तिमिल्सिना र सुरक्षागार्ड मदन श्रेष्ठविरुद्ध उजुरी परेको थियो ।

 

यी ४ जनाविरुद्ध १२ जेठमा उजुरी परेको हो । उजुरी परेपछि पहिलो पटक २ दिने र दोस्रो पटक २४ घन्टे समय तोकेर अस्पताल प्रशासनले स्पष्टीकरण मागेको थियो । उनीहरूले २ पटक दिएको स्पष्टीकरणले प्रशासन सन्तुष्ट नभएपछि १७ जेठमा निलम्बन गरी छानबिन थालिएकामा आइतबार बर्खास्त भएका हुन् ।

 

छानबिनमा नियम विपरीत कार्य गरेकाले करार सम्झौता भंग गरी बर्खास्त गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार निलम्बन भएको मितिदेखि नै तलब, सुविधा नपाउने गरी बर्खास्त गरिएको हो ।

 

‘बोर्ड मिटिङ बसेरै निर्णय गरौँ भन्ने थियो । बोर्ड मिटिङ बस्नै सकेन । लम्बियो । धेरैले किन ढिलो गरेको भन्न थाले । करार सेवाका कर्मचारी भएकाले अस्पतालकै अधिकार प्रयोग गरेर भंग ग–यौँ’, उनले भने । 

 

बर्खास्त कर्मचारीको करार अवधि यही असार मसान्तमा सकिँदै थियो । समुदाय स्तरबाट सञ्चालित सेतीगंगा सामुदायिक अस्पताललाई २०६७ मा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको स्मृतिमा जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बनाउने निर्णय गरिएको थियो ।