close

तिलोत्तमाका चोक–चोकमा निःशुल्क कोरोना परीक्षण 

तिलोत्तमाका चोक–चोकमा निःशुल्क कोरोना परीक्षण 

Trulli
ADVERTISEMENT

रूपन्देही– तिलोत्तमा नगरपालिकाले नगरका प्रमुख सडक तथा चोकमा निःशुल्क कोरोना संक्रमण परीक्षण सुरु गरेको छ । निषेधाज्ञा खुकुलो भए पनि कोरोना संक्रमणको जोखिम कायमै रहेपछि नगरपालिकाले संक्रमणको चेन ब्रेक गर्न कोरोना परीक्षणलाई समुदाय स्तरमा केन्द्रित गरेको हो ।

 

‘सडक एन्टिजेन टेस्ट’ नाम दिइएको कोरोना परीक्षण कार्यक्रमको मणिग्राम चोकमा सुरुआत गर्दै नगरप्रमुख वासुदेव घिमिरेले कोरोना महामारी पूर्णतः नहटेकाले सचेतना अपनाउन नगरबासीलाई आग्रह गरे । 

 

व्यक्तिको हेलचेक्र्याइँले समुदायमा पुनः महामारी फैलन सक्नेप्रति सचेत गराउँदै नगरप्रमुख घिमिरेले दैनिक कार्य सम्पादनमा स्वास्थ्य सुरक्षा मापदण्ड परिपालनामा जोड दिए । यसअघि प्रत्येक वडामा कोरोना परीक्षण गरेको तिलोत्तमाले बुधबारबाट सडकमै एन्टिजेन परीक्षण थालेको हो । 

 

कोरोना फोकल पर्सन केशव भट्टराईले क्रमशः नगरका प्रमुख सडक चोकमा एन्टिजेन परीक्षण गरिने बताए । बुधबारको परीक्षणमा ११४ जनाको नमुना संकलन गर्दा १३ जनामा कोरोना देखिएको थियो ।

 

सडकमा हिँडेकामध्येबाट नमुनाको रूपमा कृषक, व्यवसायी, विद्यार्थी, गृहिणी, चालक सह–चालकलगायतको परीक्षण गरिएको थियो । एन्टिजेन परीक्षणबाट व्यक्तिमा कोरोना संक्रमण भएको वा नभएको तत्काल थाहा हुन्छ । पछिल्लो समय समुदाय स्तरमा परीक्षण कम हुँदा संक्रमण घटेको हुन सक्ने आशंका भइरहेका बेला तिलोत्तमाले परीक्षणलाई फराकिलो बनाएको हो ।

 

यो परीक्षणले नगरपालिकामा कोरोना संक्रमणको वास्तविक अवस्था बाहिर ल्याउने र यसबाट महामारी नियन्त्रणका लागि आवश्यक थप योजना बनाउन सकिने नगरपालिकाका कोरोना फोकल पर्सन भट्टराईले जानकारी दिए ।