close

ताप्लेजुङमा साढे २९ हजारले लगाए कोरोनाविरुद्धको खोप, ६ हजार बढीले दोस्रो मात्रा लिन अझै बाँकी

ताप्लेजुङमा साढे २९ हजारले लगाए कोरोनाविरुद्धको खोप, ६ हजार बढीले दोस्रो मात्रा लिन अझै बाँकी

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– शुक्रबारसम्मको तथ्यांकअनुसार ताप्लेजुङमा २९ हजार ४ सय ३ जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार भेरोसिल, जोन्सन एन्ड जोन्सन, कोभिसिल्ड र एक्सट्राजेन गरी उक्त संख्याले खोप लगाएका हुन् । ६ हजार १ सय ४३ जनाले पहिलो डोज मात्र लगाएका छन् । 

 

सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार सबैभन्दा बढी १३ हजार ७ सय ४६ जनाले भेरोसिल खोपको दुवै डोज लगाएका छन् । ५ हजार ७ सय ५० जनाले एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोप लगाएका छन् । २ हजार १ सय ५९ जनाले कोभिसिल्ड खोप लगाएका छन् ।

 

कोभिसिल्डको पहिलो डोज लगाएकालाई दिन मिल्ने एक्सट्राजेन खोप कोभिसिल्डकै दोस्रो मात्राको रूपमा ७ हजार ९ सय २८ जनाले लगाएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार अझै पनि कोभिसिल्डको पहिलो मात्रा लगाएका तर दोस्रो मात्रा लगाउनबाट छुटेकाको संख्या सबैभन्दा बढी छ । तथ्यांकअनुसार कोभिसिल्डको पहिलो मात्रा लगाएका तर दोस्रो मात्रा एक्सट्राजेन खोप नलगाएकाको संख्या ४ हजार १ सय ४ जना छ ।

 

भेरोसिलको दोस्रो डोल लगाउन बाँकी रहेकाको संख्या १ हजार ६६ छ । ५ सय ७३ जनाले एक्सट्राजेनको पहिलो खोप लगाएका छन् । तर, दोस्रो डोज लगाएका छैनन् ।

 

स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप सुपरभाइजर दिनेश रायका अनुसार अहिले २ हजार ९ सय ९० जनालाई पुग्ने गरी एक्सट्राजेन र १ हजार ८८ जनालाई पुग्ने गरी भेरोसिल खोप मौज्दात छ । मौज्दात यो खोप २७ र २८ भदौमा फक्ताङ्लुङ र फुङलिङ नगरपालिका क्षेत्रमा बस्नेलाई लक्षित गरी लगाइँदै छ ।

 

जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले यसअघि पहिलो मात्रा लगाएका सबैका लागि पुग्ने गरी खोपको दोस्रो मात्रा आएकाले सम्बन्धित खोपकेन्द्रमार्फत दोस्रो मात्रा लगाउन आग्रह गरे ।

 

पाण्डेले खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाइसकेपछि बचत भएको खोप फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिका क्षेत्रमा प्रयोग गर्ने निर्णय भइसकेको जानकारी दिए ।

 

पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन छुट भएका र दोस्रो मात्रा लिन योग्य भएकालाई प्राथमिकताका साथ दोस्रो मात्रा उपलब्ध गराइने जिल्ला खोप समन्वय समितिले निर्णय गरिसकेको छ । 

 

दोस्रो मात्रा समेत लगाएर बचत भएको खोप फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिका क्षेत्रमा १८ वर्ष पूरा भएका विद्यार्थी, वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र अन्यलाई क्रमसँग प्राथमिकता क्रमका आधारमा लगाइने तयारी रहेको स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख राजकुमार पोखरेलले जानकारी दिए । 

 

५ प्रतिशत मात्र सक्रिय संक्रमित 


ताप्लेजुङमा शुक्रबार अपराह्नसम्म सक्रिय कोरोना संक्रमितको संख्या करिब ५ प्रतिशतमा झरेको छ । अहिले १ सय २७ जना मात्र सक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

 

कोरोनाको दोस्रो भेरिएन्ट सुरु भएयता २ हजार ४ सय ७३ जनामा संक्रमण देखिएकामा २ हजार ३ सय ३० जना संक्रमणमुक्त भएका छन् । सबैभन्दा बढी संक्रमित पाथीभरा याङ्बरकमा छन् । त्यहाँ ६४ जना सक्रिय संक्रमित रहेको प्रशासन कार्यालयले जनाएको छ । 

 

आठराई त्रिवेणी, मैवाखोला र मेरिङ्देन गाउँपालिकामा सक्रिय संक्रमित छैनन् । जिल्ला अस्पतालमा परीक्षण गराएका ४५ सहित फुङ्लिङ नगरपालिकामा ५१ जना सक्रिय संक्रमित छन् ।

 

मिक्वाखोला गाउँपालिकामा ३, फक्ताङ्लुङ र सिरिजंगामा १–१ र सिदिङ्वा गाउँपालिकामा ७ जना सक्रिय संक्रमित रहेको प्रशासन कार्यालयले जनाएको छ ।