close

तिलोत्तमा सुरु भो रेबिजविरुद्धको खोप

तिलोत्तमा सुरु भो रेबिजविरुद्धको खोप

Trulli
ADVERTISEMENT

रूपन्देही– विश्व रेबिज दिवस २०७८ अवसरमा तिलोत्तमा नगरपालिकाका १७ वटै वडामा रेबिजविरुद्धको निःशुल्क खोप अभियान सञ्चालन भएको छ । पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेशको सहकार्यमा तिलोत्तमा नगरपालिकाले खोप अभियान सञ्चालन गरेको हो ।


१२ असोजदेखि सुरु भएको रेबिजविरुद्धको निःशुल्क खोप अभियान १८ असोजसम्म चल्ने नगरपालिकाको पशु शाखाले बताएको छ । १२ असोजमा वडा नम्बर १, २ र ५ मा तथा १३ असोजमा वडा नम्बर ३, ४ र ६ मा खोप अभियान सम्पन्न भएको छ ।  त्यस्तै, १४ असोजमा वडा नम्बर ८, ११ र १२ मा, १५ असोजमा वडा नम्बर ९ र ७ मा, १६ असोजमा वडा नम्बर १३ र १४ मा, १७ असोजमा वडा नम्बर १० र १७ मा तथा १८ असोजमा वडा नम्बर १५ र १६ मा यो अभियान सञ्चालन हुने नगरपालिका पशु शाखाका प्रमुख राजु कुँवरले बताए ।


छाडा छाडिएका कुकुरलाई प्राथमिकतामा राखेर रेबिजविरुद्धको खोप अभियान चलाइएको र दोस्रो प्राथमिकतामा घरपालुवा कुकुरलाई लगाइने उनले जानकारी दिए ।


रेबिजविरुद्धको खोप अभियानमा नगरपालिकाअन्तर्गत पशु शाखाका प्राविधिक खटिएका छन् । रेबिज कुकुर तथा अन्य जंगली जनावरको टोकाइबाट मानिसमा सर्ने प्राणघातक रोग हो ।


रेबिज संक्रमित जनावरले टोक्दा र्‍यालबाट मानिसको शरीरभित्र भाइरस प्रवेश गर्ने गर्छ । ज्वरो आउने, घाउ भएको ठाउँमा दुख्ने, भाइरस मस्तिष्कसम्म पुगेपछि मस्तिष्क तथा स्नायु सुनिनेलगायत लक्षण देखिन्छन् ।

 

घरपालुवा कुकुरलाई रेबिजविरुद्धको खोप लगाउन, कुकुरलगायत जनावरले टोकेमा साबुनपानीले हात धुन र स्वास्थ्य संस्थामा सम्पर्क गरी रेबिजविरुद्धको खोप लगाउन पनि तिलोत्तमाले अनुरोध गरेको छ ।

 

नगर प्रमुख वासुदेव घिमिरेले १७ वटै वडामा सञ्चालन भएको खोप अभियानमा आफ्ना घरपालुवा कुकुरलाई सहभागी गराउने काममा सहयोग गर्न नगरबासीलाई आग्रह गरे । ‘यो अभियानमा भुस्याहा कुकुरका साथै धेरैभन्दा धेरै घरपालुवा कुकुरलाई रेबिजविरुद्धको खोप लगाउने हाम्रो योजना छ’, उनले भने । वडा कार्यालयको स्वीकृतिमा मात्रै कुकुर पाल्ने गर्ने नगरपालिकाले कार्यविधि बनाउन लागेको उनले जानकारी दिए ।