close

६५ प्रतिशत बालबालिकाको रगतमा सिसा !

६५ प्रतिशत बालबालिकाको रगतमा सिसा !

Trulli
ADVERTISEMENT

काठमाडौं–मुलुकका ६५ प्रतिशत बालबालिकाको रगतमा ‘लिड’ (सिसा) को मात्रा भेटिएको छ ।  ‘लिडको विषयबाट बचावटका लागि नवौँ अन्तर्राष्ट्रिय सचेतना सप्ताह २०२१’ का अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले आयोजना गरेको कार्यशाला गोष्ठीमा विज्ञले यस्तो जानकारी दिएका हुन् । १ डेसिलिटर रगतमा ५ माइक्रो ग्रामभन्दा बढी सिसा (लिड) हुुन नहुनेमा नेपालका बालबालिकाको शरीरमा सोभन्दा बढी पाइएको जानकारी उनीहरूले दिए । 

 

घर, विद्यालय तथा अस्पतालका भित्ता, फर्निचरमा लगाउने रङमा लिडको मात्रा प्रशस्त हुने भएकाले त्यसले स्वास्थ्य तथा वातावरणमा पार्ने समस्याको निराकरण एवं न्यूनीकरण गर्न जनचेतनाका साथै क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको छ । 


डब्लुएचओको नेपालस्थित कार्यालयका जनस्वास्थ्य सल्लाहकार डा. खुर्सिद अलम हेदरले सरकारले सात वर्षअघि पेन्टमा तोकेको लेडको मापदण्डको व्यापक प्रचार–प्रसार हुनुपर्ने बताए । उनले मुलुकमा नसर्ने रोग बढिरहेको सन्दर्भमा रङमा प्रयोग गरिने लिडलाई ध्यानमा राखी सोको ख्याल गर्न सम्बन्धित निकायलाई आग्रह गरे । 

 

कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहले लिडले बालबालिकाको शारीरिक तथा मानसिक एवं बौद्धिक विकासमा सीधै असर गर्ने हुँदा यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

 

सरकारले ७ पुस २०७१ मा राजपत्रमा प्रकाशित गरी पेन्टस्मा लिडसम्बन्धी तोकेको बाध्यकारी मापदण्ड ९० पिपिएम सम्मलाई प्रयोग गर्न पनि उनले आग्रह गरे ।
साहका अनुसार लिडले मानिसको मुटु, स्नायु र प्रजनन प्रणालीमा समेत असर गर्दछ । बालबालिकाको शरीरमा लिडको मात्रा धेरै भए स्मरण शक्तिमा ह्रास आउने साहले दाबी गरे । 

 

व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाविज्ञ खगेन्द्र बस्नेतले शरीरमा १० माइक्रोग्रामभन्दा बढी सिसाको मात्रा भेटिए उपचारमा लाग्न सुझाए । काठमाडौं मेडिकल कलेज सामुदायिक चिकित्सा विभागका प्रमुख डा. सुनीलकुमार जोशीले ब्याट्री तथा रङमा प्रयोग भएका लिडले मानिसको पेट हुँदै टाउको अनि हड्डीमा समेत असर गर्ने बताए । 

 

मुलुकमा आधुनिकता भित्रिएसँगै बनिरहेका नयाँ भवनमा प्रयोग गरिने रङले आउँदा दिनमा मानिसको शरीरमा असर नगरोस् भनेर उत्पादित कारखानालाई ध्यान दिन अनुरोध गर्नुपर्ने केन्द्रले गरेको अध्ययनमा तोकेको पीपीएमभन्दा कम लेड पाइएको कम्पनी फेसन पेन्टस् उद्योग हेटौंडाका प्रमुुख व्यवस्थापक अरबिन्द सिंहले जानकारी दिए ।

 

वन तथा वातावरण मन्त्रालयका सहसचिव धनञ्जय पौडेलले केन्द्र सरकार मात्रै नभएर स्थानीयलगायत गैरसरकारी संस्था अनि समुदाय तथा टोल–टोलबाट पेन्ट्समा हुने लिडको नकारात्मक प्रभावबाट बच्ने उपायबारे जानकारी दिनुपर्ने खाँचो औँल्याए । 


सरोकारवालाले ७ वटै प्रदेशबाट ३७ पेन्टस् उद्योगका नमुना सङ्कलन गरी ६२ विभिन्न रङका इनामेलका साथै २१ विभिन्न रङका स्प्रे पेन्ट्सका नमुना अध्ययन गर्दा ६२ मध्ये ३२ वटा अर्थात् ५२ प्रतिशतमा मात्र तोकिएको पीपीएमभन्दा कम लिड र बाँकी ३० नमुना अर्थात् ४८ प्रतिशत पेन्ट्समा बढी लिडको मात्रा भेटिएको जानकारी दिइएको थियो । पेन्टस्मा लिडको मात्रा ९० पीपीएमसम्म हुुनुपर्नेमा केहीमा २२ हजार ८५० अर्थात् मापदण्डभन्दा २५४ गुणा बढी रहेको थियो ।