close

बाल अस्पताललाई काठमाडौं महानगरको ४ करोड सहयोग

बाल अस्पताललाई काठमाडौं महानगरको ४ करोड सहयोग

Trulli
ADVERTISEMENT

काठमाडौं– वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा निर्माण भइरहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई काठमाडौं महानगरपालिकाले ४ करोड रुपैयाँ सहयोग गरेको छ ।


बूढानीलकण्ठमा बालबालिकाको उपचारका लागि निर्माण गरिने उक्त अस्पतालका लागि काठमाडौं महानगरले ४ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको हो ।
उक्त सहयोगका लागि सम्झौता–पत्रमा बुधबार हस्ताक्षर भएको छ ।


काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गीको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।


कार्यक्रममा प्रमुख शाक्यले मुलुक संघीयतामा गइसकेको अवस्थामा स्वास्थ्य सेवाका लागि संघीय राजधानी धाउनुपर्ने बाध्यता अन्त्य हुनुपर्नेमा जोड दिए । ‘संघीय राजधानीबाट पाउने स्वास्थ्य सेवा अन्य प्रदेशबाट पनि प्राप्त गर्ने वातावरण निर्माणका लागि संघ र प्रदेश सरकारलाई स्वास्थ्य क्षेत्रमा लगानी गर्न आग्रह गर्छु,’ शाक्यले भने, ‘निजी क्षेत्रले स्वास्थ्यमा लगानी गर्न चाहन्छ भने त्यसका लागि उपयुक्त वातावरण निर्माण गरेर अबका दिनमा स्वास्थ्य सेवाका लागि नागरिकले संघीय राजधानी नै धाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्छ ।’


काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष कोइरालाले नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य र अलि भिन्न तरिकाले बालबालिकाका सबै प्रकारका रोगको विशेषज्ञसहितको विशिष्टीकृत सेवा दिने उद्देश्यले अस्पताल निर्माणको अभियानमा जुटेको बताए ।


‘बालबालिकाका प्रत्येक रोगका विज्ञलाई एउटै छानमुनि राखेर काठमाडौंबाट सेवा दिने सामूहिक सपनालाई मूर्त रूप दिन हामीले यो अस्पताल निर्माणको अभियान अघि बढाएका हौँ,’ कोइरालाले भने, ‘प्रत्येक प्रदेशमा पनि विशेषज्ञसहितको सेवा दिने योजनासहित अस्पताल निर्माणको काम अघि बढाएका छौँ । त्यही अभियानअन्तर्गत प्रदेश १ बाट हामी छिट्टै सेवा सुरु गर्ने तयारीमा छौँ ।’ कोइरालाले काठमाडौंमा २०० बेडको अस्पताल निर्माणको तयारी गरिरहेको जानकारी दिए ।