close

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा अक्सिजन प्लान्ट सञ्चालन

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा अक्सिजन प्लान्ट सञ्चालन

Trulli
ADVERTISEMENT

दाङ–राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा अक्सिजन प्लान्ट तथा रिफिलिङ सेन्टर सञ्चालनमा आएको छ । डेढ करोड रुपैयाँ लगानीमा अक्सिजन प्लान्ट निर्माण भएपछि सञ्चालनमा आएको हो । 

 

अक्सिजन प्लान्ट सञ्चालनमा आएसँगै अक्सिजन उत्पादन सुरु भएको प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहले जानकारी दिए । अहिले अस्पतालमा दैनिक ७५ वटा सिलिन्डर उत्पादन हुँदै आएको छ ।

 

अक्सिजन उत्पादन सुरु भएपछि तत्कालका लागि अस्पताललाई आवश्यक पर्ने अक्सिजन पर्याप्त भएको छ । कोभिडलाई लक्षित गरेर अस्पतालमै अक्सिजन उत्पादन सुरु भएपछि आर्थिक व्ययभार कम हुनेछ । 


अक्सिजन उत्पादनपछि अस्पतालमा मासिक करिब ३ लाख रुपैयाँको व्ययभार कम भएको मेसु डा. सिंहले बताए । यसअघि अस्पतालमा आवश्यक पर्ने करिब १० वटा अक्सिजन सिलिन्डर बाहिरबाट खरिद गरेर काम चलाउनुपर्ने बाध्यता थियो ।

 

अक्सिजन उत्पादन र रिफिलिङ गर्न सकिने भएपछि कोभिड महामारीको समय पनि बिरामीको सहजै उपचार गर्न सकिनेछ । विगतको आँकडालाई हेर्दा तुलसीपुर क्षेत्रमा दैनिक साढे ३ सय अक्सिजन सिलिन्डर आवश्यक पर्छ । यद्यपि यसले महामारीको समय धेरै सहयोग पुग्ने सिंहको भनाइ छ ।


४ जेठ २०७८ को मन्त्रिपरिषद् बैठकले तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालसहित १२ वटा अस्पतालका लागि १६ करोड ८० लाख रुपैयाँ बजेट छुट्याउने निर्णय गरेको थियो । अक्सिजन अभावमा कोरोना संक्रमित बिरामीको मृत्यु हुन थालेपछि रोकथाम, उपचार तथा नियन्त्रणका लागि सबै उपाय अवलम्बन गर्ने नीतिअनुरूप देशका अधिकांश अस्पतालमा अक्सिजन प्लान्ट, पाइप लाइन, एचडियु जडानका लागि अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेको थियो ।

 

अस्पताल परिसरमा दैनिक ६ हजार लिटर अक्सिजन उत्पादन क्षमताको अर्को अक्सिजन प्लान्ट निर्माण सुरु भएको छ । क्यानडा सरकारको सहयोग तथा नेपाल रेडक्रस दाङको समन्वयमा उक्त अक्सिजन प्लान्ट निर्माण सुरु भएको हो ।