close

तिलोत्तमामा ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण 

तिलोत्तमामा ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण 

Trulli
ADVERTISEMENT

रूपन्देही–रूपन्देहीको तिलोत्तमा नगरपालिकाले ज्येष्ठ नागरिकका लागि ‘ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण’ सुरु गरेको छ । नगरपालिकाले ७० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई घर–घरमै पुगेर सेवा दिने गरी कार्यक्रम सुरु गरेको हो । 

 

सोमबार कार्यक्रम सुरु गर्दै नगरप्रमुख वासुदेव घिमिरेले ज्येष्ठ नागरिकको मन जितेर काम गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरे । तिलोत्तमाले शिक्षा र स्वास्थ्यमा विशेष जोड दिएर काम गरिरहेको बताउँदै उनले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल गरेर यो कार्यक्रम सुरु गरिएको बताए । 

 

कार्यक्रमअनुसार हरेक वडामा दुई–दुई स्वास्थ्यकर्मीले नागरिकको घरदैलोमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नेछन् । सामान्य स्वास्थ्य समस्या भएकालाई निःशुल्क औषधी दिइने र स्वास्थ्य समस्या जटिल भए आवश्यकताअनुसार अस्पताल पठाइने नगरपालिकाले जनाएको छ । 

 

नगरपालिकाले विभिन्न ११ थरी औषधी र मधुमेह परीक्षणको समेत व्यवस्था गरेको छ । स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधी र आवश्यक परामर्श उपलब्ध गराउने जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले बताए ।

 

तिलोत्तमाले स्वास्थ्यकर्मीलाई लुम्बिनी प्रादेशिक अस्पतालका फिजिसियन डा. नन्दु पाठकबाट अभिमुखीकरण गराएर कार्यक्रम सुरु गरेको हो । तिलोत्तममा ७० वर्षमाथि झन्डै ४ हजार ८ सय ज्येष्ठ नागरिक रहेको स्वास्थ्य शाखाको तथ्यांकमा उल्लेख छ ।