close

बालबालिका लक्षित कोरोनाविरुद्धको खोप अभियान सुरु

बालबालिका लक्षित कोरोनाविरुद्धको खोप अभियान सुरु

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले बालबालिका लक्षित कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा आफैंले अध्ययन गरेको मकवानपुरको विद्यालयमा कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु गरेका हुन् । हेटौंडा उपमहानगरस्थित भुटानदेवी स्कुलबाट आइतबारदेखि विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाएर खोप अभियान सुरु भएको हो । योसँगै आइतबारदेखि देशका ५७ जिल्लामा कोरोनाविरुद्धको मोडर्ना खोप अभियान सुरु भएको छ ।

 

मन्त्रालयले १२ देखि १७ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ । खोप अभियान १४ पुससम्म चल्नेछ । पहिलो मात्रा खोप लगाएका बालबालिकाले २ देखि १२ माघसम्म दोस्रो मात्रा लगाउन सक्ने मन्त्रालयले जनाएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहाल अनुसार देशका ५७ जिल्लाका पायक पर्ने विद्यालयबाट खोप अभियान सञ्चालन गरिनेछ ।


प्रदेश १ ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर गरी ११ जिल्ला, प्रदेश २ सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा गरी ५ जिल्ला, बागमती प्रदेश दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, रामेछाप, नुवाकोट र मकवानपुर गरी ७ जिल्लामा खोप लगाइँदै छ ।


यस्तै, गण्डकी प्रदेश गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङजा र पर्वत गरी ९ जिल्ला, लुम्बिनी प्रदेश रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया गरी ९ जिल्ला, कर्णाली प्रदेश डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सल्यान गरी ९ जिल्लामा खोप लगाइनेछ ।


सुदूरपश्चिम प्रदेश बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुर गरी ७ जिल्लामा खोप लगाउने सरकारी कार्यातालिका छ । अहिलेसम्म नेपालमा ३६ लाख ५१ हजार दुइ सय मोर्डना खोप आइसकेको छ ।