close

प्रधानमन्त्री समक्ष मुख्यमन्त्रीहरूको प्रतिबद्धता : ‘खोप अभियान प्रभावकारी बनाउछौँ’

प्रधानमन्त्री समक्ष मुख्यमन्त्रीहरूको प्रतिबद्धता : ‘खोप अभियान प्रभावकारी बनाउछौँ’

Trulli
ADVERTISEMENT

काठमाडौं– सङ्घीय सरकारले कोभिड–१९ विरुद्धको खोप प्रदान गर्न राखेको प्रतिबद्धतालाई लक्षित वर्गसमक्ष पुर्‍याउन प्रदेश सरकारका मुख्यमन्त्रीहरूले खोप अभियानलाई प्रभावकारीरूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

 

कोभिड–१९ विरुद्धको विशेष खोप अभियानबारे प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार सिंहदरबारमा भएको प्रदेश सरकारका मुख्यमन्त्रीसँगको भर्चुअल अन्तरक्रियामा मुख्यमन्त्रीले आवश्यकताअनुसार सङ्घीय सरकारले प्रदेशमा खोप पर्याप्त मात्रामा पठाएको र त्यसका लागि चाहिने जनशक्तिको चाँजोपाजो पनि गरिएकाले चैत मसान्तभित्र सबै नागरिकलाई खोप लगाउने घोषित लक्ष्यलाई पूरा गर्न सक्रियतापूर्वक लाग्ने विश्वास दिलाए ।

 

साथै उनीहरुले खोप अभियानलाई आवश्यक खोप तथा अपुग जनशक्ति र स्रोत साधनको व्यवस्थापनमा सहजीकरण गरिदिन पनि सङ्घीय सरकारलाई अनुरोध गरे ।

 

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले खोप अभियानलाई सार्थक बनाउन प्रदेश सरकारले आवश्यक जनशक्ति र स्रोत साधन जुटाएर पूर्णक्षमताका साथ दैनिक खोप लगाइरहेको बताए । उनले प्रदेश १ मा ५३ प्रतिशत पहिलो मात्रा र ४८ प्रतिशतलाई पूर्णमात्राको खोप लगाइएको जानकारी दिए । 

 

मुख्यमन्त्री राईले खुला सीमा भएकाले प्रदेशमा महामारी बढ्नसक्ने जोखिमलाई मध्यनजर गरी आवश्यक जनशक्ति तैनाथ गरी सङ्घीय सरकारले राखेको लक्ष्यलाई पूरा गर्न सम्पूर्ण जनशक्ति तदारुकताका साथ लाग्ने विश्वास दिलाए । 

 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बृहत्रूपमा खोप कार्यक्रमलाई कसरी अघि बढाउन सकिन्छ भनेर प्रदेश–२ प्रभावकारीरूपमा लागेको बताए । उनले प्रदेश–२ मा ४१.५ प्रतिशतले पहिलो मात्रा र ३३.५ प्रतिशतले पूर्ण मात्राको खोप लगाएको जानकारी दिए ।

 

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले सङ्घीय सरकारले सहज तरिकाले कोभिड विरुद्धको खोप उपलब्धता गराएकाले घोषित लक्ष्यमा पुग्न थप खोप लगाउने कार्यलाई तीव्रताका साथ अघि बढाइने बताए  । उनले गण्डकी प्रदेशमा हालसम्म ८८.४ प्रतिशतले पहिलो मात्रा र ६६.२ प्रतिशतले पूर्णमात्रामा खोप लगाइसकेको जानकारी दिए ।

 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो प्रदेशमा कूल जनसङख्याको ७७ प्रतिशतले कोभिड विरुद्धको पहिलो मात्रा र ४० प्रतिशतले पूर्ण मात्रामा खोप लगाएको जानकारी दिए । उनले अहिले दैनिक ४५ हजारले खोप लगाइरहेको र आगामी दिनमा थप ३४ लाख मात्रा खोप आवश्यक भएको बताए । प्रदेशमा पर्याप्त मात्रामा खोप आइरहेकाले चैतसम्मको लक्ष्यमा पुग्न कुनै समस्या नहुने बताए ।

 

बागमती प्रदेशका स्वास्थ्यमन्त्री प्र्रदीपकुमार कटुवालले बागमती प्रदेशमा ६० प्रतिशत मात्रा पूर्णखोप लगाइसकेको जानकारी दिए । उनले खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई प्रोत्साहन र जोखिम भत्ता उपलब्ध गराउने कार्यक्रम ल्याउन जरुरी भएको बताए । सङ्घीय सरकारले पुस मसान्तसम्म ६६ प्रतिशत र चैत मसान्तभित्र शतप्रतिशत जनसङ्ख्यालाई खोप लगाइसक्ने लक्ष्य लिएको छ ।

 

मुख्यसचिव शङ्करदास बैरागीले कोभिड महामारी नियन्त्रण गर्ने एक मात्र उपाय कोभिड विरुद्धको खोप भएकाले आम नागरिकलाई पूर्णमात्रामा खोप लगाउने कार्यमा सक्रियतापूर्वक लाग्न सरोकारवाला निकायलाई आग्रह गरे । उनले कोभिडको नयाँ भेरियन्ट देखा परेकाले यसबाट बच्न खोप अभियानलाई प्रभावकारी बनाइनुको विकल्प नभएको बताए । 

 

उनले भने, ‘कोभिडबाट नागरिकलाई बचाउन खोपबाहेक हामीसँग अरु विकल्प छैन । तसर्थ आगामी दिनमा सङ्घीय सरकारको समन्वयमा सबै प्रदेशमा खोप अभियानलाई अझ सशक्त र प्रभावकारीरूपमा अघि बढाउन जरुरी छ ।’

 

हाल मुलुकमा ९३ लाख खोप मौज्दात रहेको छ । कूल जनसङ्ख्याको ६० प्रतिशतले पहिलो र ४५ प्रतिशतले पूर्णमात्रामा खोप लगाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले जनाएको छ । मन्त्रालयका सचिव रोशन पोखरेलले असोजसम्म ३३ र पुस मसान्तसम्म ६६ प्रतिशत लक्ष्यमा पुग्नेगरी खोप अभियान सञ्चालन भइरहेको तथा चैत मसान्तसम्म सबै नागरिकलाई खोप लगाइसक्ने सरकारी लक्ष्यलाई सार्थक तुल्याउन सरोकारवाला निकाय सक्रियपूर्वक लाग्नुपर्नेमा जोड दिए । 

 

उनले औसत दैनिक दुई लाख १४ हजारलाई खोप लगाउने लक्ष्य रहेकामा अहिले दैनिक दुई लाख पाँच हजारलाई खोप लगाइरहेको जानकारी दिए ।