close

इलाम नगरपालिकाद्वारा सामुदायिक आँखा अस्पताल उद्घाटन

इलाम नगरपालिकाद्वारा सामुदायिक आँखा अस्पताल उद्घाटन

Trulli
ADVERTISEMENT

इलाम– इलाम नगरपालिकाले सञ्चालनमा ल्याएको इलाम सामुदायिक आँखा अस्पतालले बुधबारबाट उपचार सेवा सुरु गरेको छ ।  नगरप्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्बाङले संयुक्त रूपमा अस्पतालको सेवा उद्घाटन गरे ।
 
उपचार सेवाले आँखाका सामान्य रोगी उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्नेछ । यो आँखा अस्पताल स्थानीय तहले सञ्चालन गरेको देशकै पहिलो अस्पताल भएको नगरपालिकाले बताएको छ । अस्पतालमा तत्काललाई शल्यक्रियाबाहेकका सेवा उपलब्ध हुनेछन् । आँखाको जनरल ओपिडी, जनरल उपचार, सामान्य अप्रेसन, चस्मा बनाउनेलगायत सेवा उपलब्ध गराइनेछ । 


अस्पतालमा सातौँ तहका एक जना नेत्र विशेषज्ञ, पाँचाँै तहका एक जना नेत्र सहायक, एक जना फार्मेसिस्ट र एक जना चस्मा बनाउने प्राविधिक छन् । अस्पतालले बिर्तामोड आँखा अस्पतालसँग सहकार्य गर्नेछ । आँखा अस्पतालको सहकार्यमा समय–समयमा शल्यक्रियाको समेत सुविधा दिइने नगरपालिका प्रमुख महेश बस्नेतले बताए । 


बिरामीको स्क्रिनिङ गरेर निश्चित समयमा शल्यक्रिया पनि यही अस्पतालमा गर्ने गरी साझेदारी भएको प्रमुख बस्नेतले जानकारी दिए । शल्यक्रियाका लागि चाहिने औजार उपकरण खरिद नगरेसम्म बिर्तामोड आँखा अस्पतालले नै आवश्यक सामग्री व्यवस्थापन गर्नेछ । नगरपालिकाले सिंहवाहिनी खोल्सीलाई व्यवस्थित गरेर निस्किएको ठाउँमा अस्पताल निर्माण गरेको हो । एक तले भवनमा ६ कोठे आँखा अस्पताल निर्माण गरिएको छ । 


अस्पताल निर्माण सुरु भएको आठ महिनापछि सेवा सञ्चालन गरिएको हो । आँखा अस्पतालका लागि आवश्यक भवन बनाउन जग्गा व्यवस्थासमेत गरिएको नगरप्रमुख बस्नेतको भनाइ छ । ‘अस्पतालाई चाहिने भौतिक पूर्वाधार निर्माण गर्न जग्गा पर्याप्त पाएका छौँ’, प्रमुख बस्नेतले भने, ‘नगरपालिकाले छुट्याएमध्येबाट बचेको रकम आँखा अस्पतालको भौतिक र गुणस्तर वृद्धि गर्न खर्चिन्छौँ ।’ 

 

अस्पताल निर्माण गर्न ५७ लाख खर्च

अस्पताल निर्माणमा ५७ लाख ९० हजार रुपैयाँ खर्च भएको आँखा अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष विद्या सापकोटाले बताइन् । अस्पताल निर्माण गर्न नगरपालिकाले अघिल्लो आर्थिक वर्षको बजेट रकमान्तर गरेर ५० लाख रुपैयाँ जुटाएको थियो । चालू आर्थिक वर्षमा भने १ करोड रुपैयाँ विनियोजन गरेको नगरपालिकाले जनाएकोे छ ।

 

अस्पताल सञ्चालनका लागि छुट्टै कार्यविधि
नगरपालिकाले सामुदायिक आँखा अस्पताल सञ्चालन गर्न छुट्टै कार्यविधि बनाएको छ । अस्पताल सञ्चालन र व्यवस्थापनको गर्न स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर छुट्टै कार्यविधि जारी गरेको नगरपालिकाले जनाएको छ । 

 

कार्यविधिले नगरपालिका उपप्रमुखको अध्यक्षतामा सञ्चालक समिति गठन हुने व्यवस्था गरेको छ । कार्यविधिकै आधारमा अस्पतालमा आवश्यक जनशक्ति व्यवस्थापन गरिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा उपप्रमुख नेम्बाङले जानकारी दिइन् ।