close

पूर्वी नाकामा स्थापना भयो हेल्थ डेस्क

पूर्वी नाकामा स्थापना भयो हेल्थ डेस्क

Trulli
ADVERTISEMENT

विराटनगर–काँकडभिट्टामा सुविधासम्पन्न हेल्थ डेस्क सञ्चालनमा आएको छ । सुविधासम्पन्न र बेडसहितको डेस्कको नगर प्रमुख विमल आचार्यले बुधबार उद्घाटन गरेसँगै सञ्चालनमा आएको नगरपालिकाको स्वास्थ्य शाखाले बताएको छ ।


सबै सीमा क्षेत्रमा स्वास्थ्य चेकजाँच गर्न सरकारले धेरै वर्षदेखि स्वास्थ्य केन्द्र, चौकी स्थापना गरेकाले औलो, कालज्वरो, दादुरा, पोलियोलगायत रोकथामका लागि यस्ता संरचना तयार गरिएको नगरप्रमुख आचार्यले बताए ।

 

अहिले कोभिड १९ को ओमिक्रोन भेरियन्टको संक्रमण सीमावर्ती बजारमा देखिएकाले त्यसको नियन्त्रणका लागि चिकित्सक र अन्य प्राविधिकसहितको टोली व्यवस्था गरिएको उनले जानकारी दिए ।

 

उक्त नाकाबाट आउजाउ गर्नेका लागि एकद्वार प्रणाली अवलम्बन गर्नसमेत नगरप्रमुख आचार्यले मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल (बीओपी काँकडभिट्टा) को ध्यानाकर्षण गराए । सुरक्षा, राजस्व चुहावट, विभिन्न आपराधिक गतिविधिका हिसाबले जाने र आउने अलग–अलग बाटो प्रयोग गर्न आवश्यक रहेको उनको भनाइ छ ।


उपप्रमुख मीना पोखरेल उप्रेतीले विभिन्न समय आउने विभिन्न खाले महामारी रोग नियन्त्रणमा नगरका सरोकारवाला सबैको साथ र सहकार्य हुनुपर्नेमा जोड दिइन् । डेस्कमा बेडको पनि व्यवस्था रहेकाले अन्य खालका बिरामीले समेत प्राथमिक उपचार प्राप्त गर्न सक्ने उनको भनाइ   छ । 

नगरपालिकाले यहीबाट कोभिड–१९ विरुद्घको खोपसमेत उपलब्ध गराउनेछ । मेचीनगर वडा नम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवराज ओली, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक सुनील दाहाल, सशस्त्र प्रहरी बल नेपाल, बीओपी काँकडभिट्टाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रेम राई, विभिन्न दल, संघ–संस्थाका प्रमुख प्रतिनिधिसहित उद्योगी, व्यवसायीलगायत सहभागी थिए ।


हेल्थ हेल्प डेस्क स्थापनाका लागि मेचीनगर नगरपालिकाको पहलमा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले करिब ५० लाख रुपैयाँ विनियोजन गरेका थिए ।