close

दाहाललाई कोरोना संक्रमण पुष्टिपछि देउवा आइसोलेसनमा

दाहाललाई कोरोना संक्रमण पुष्टिपछि देउवा आइसोलेसनमा

Trulli
ADVERTISEMENT

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री तथा कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् । देउवा शनिबारदेखि आइसोलेसनमा बसेको बालुवाटार सचिवालयले जानकारी दिएको हो । 

 

शुक्रबार कोरोना संक्रमण पुष्टि भएका प्रचण्डसँग देउवाको भेटघाट भएकाले प्रोटोकलअनुसार उनी आइसोलेट निर्णयमा पुगेको सचिवालयका एक सदस्यले बताए । केही दिन आइसोलेसनमा बसेर कोरोना परीक्षण गराएपछि मात्रै उनी सार्वजनिक कार्यक्रममा निस्कने बताइएको छ । 

 

दुई दिनअघि बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा देउवा र प्रचण्ड सँगै रहेका थिए । भेटघाट भएको भोलिपल्टै प्रचण्डमा कोरोना पुष्टि भएपछि देउवालगायतका अन्य नेताहरू पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । त्यसो त देउवा शनिबार बिहान एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका थिए । 

 

थप ९४४ जनामा कोरोना संक्रमण 

 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार २६४ जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको हो । 

 

यस्तै, सोही अवधिमा २९७ जना निको भएका छन् । पछिल्लो २४ घन्टामा कसैको मृत्यु भएको छैन । मन्त्रालयका अनुसार हाल देशभर कोरोना संक्रमितको कुल संख्या पिसिआर विधिबाट भएको परीक्षणमा ८ लाख ३१ हजार ७४८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९७ हजार ८९ जना पुगेको छ ।

 

संक्रमितमध्ये हालसम्म ८ लाख १८ हजार ६ जना निको हुँदा कुल ११ हजार ६०२ जनाको मृत्यु भएको छ । हाल देशभर ६ हजार १४० सक्रिय संक्रमित छन् ।