close

सुनकोसी किनारा बाँजगरामा आधारभूत स्वास्थ्य सेवा केन्द्र

सुनकोसी किनारा बाँजगरामा आधारभूत स्वास्थ्य सेवा केन्द्र

Trulli
ADVERTISEMENT

उदयपुर– त्रियुगा नगरपालिकाको वडा नम्बर १४ सुनकोसी किनारा धाप्लाङ बाँजगरामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना भएको छ । सदरमुकाम गाईघाटको विकट र पछि परेको धाप्लाङस्थित बाँजगरामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना भएको हो । स्थानीय समुदायसम्म स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले त्रियुगा नगरपालिकाले बाँजगरामा सेवा केन्द्र स्थापना गरेको हो ।

 

त्रियुगाको वडा नम्बर १४ पहाडी भेगमा पर्ने वडा हो । यसअघि वडाको पनि दुर्गम सुनकोसी किनारामा पर्ने बाँजगराबासीलाई सामान्य रुघाखोकी र ज्वरोको औषधोपचारका लागि घन्टौँ हिँडेर जानुपर्ने बाध्यता थियो । बाँजगराबासीलाई स्वास्थ्य सेवा लिनुपरे वडा कार्यालय रहेको साउने बजार आउनुपर्ने वा सुनकोसी तरेर खोटाङको सुन्तले पुग्नुपर्ने बाध्यता थियो ।

 

स्थानीय सहज स्वास्थ्य सेवा दिलाउन बाँजगरामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले बताए । उनका अनुसार हरेक वडामा स्वास्थ्य चौकी भए पनि वडाका कुनाकन्दराका गाउँबस्तीसम्म स्वास्थ्योपचार सहज बनाउन नगरपालिकाले सेवा केन्द्र स्थापना गर्दै आएको छ ।

 

नगरपालिकाले आन्तरिक स्रोतबाट सञ्चालन गर्ने गरी सेवा केन्द्र स्थापना गरेर स्वास्थ्यकर्मीको व्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए । आधारभूत स्वास्थ्य सेवा केन्द्रको नगर प्रमुख बलदेव चौधरी र उपप्रमुख देवीकुमारी चौधरीले संयुक्त रूपमा उद्घाटन गरे । कार्यक्रममा नगरप्रमुख चौधरीले त्रियुगा नगरपालिकाका १६ वटै वडाबासीलाई स्वास्थ्य सेवाको पहुँच सहज बनाइँदै लगेको बताए । 


नगरप्रमुख चौधरीले जिल्लाको जेठो र सदरमुकामको नगरपालिका भए पनि कतिपय वडा विकट र दुर्गम रहेकाले सबै वडालाई समान हैसियतको बनाउने गरी काम हुँदै आएको जानकारी दिए । नगर सामाजिक विकास समिति संयोजक मानबहादुर राईले नगरका सबै वडामा स्वास्थ्य चौकी र नभएका ठाउँमा आधारभूत स्वास्थ्य सेवा केन्द्र खोलेर सेवा दिइँदै आएको बताए । उनका अनुसार अहिलेसम्म नगरपालिकाभित्र स्वास्थ्य चौकीबाहेक १५ वटा आधारभूत सेवा केन्द्र स्थापना भइसकेको छ ।

 

स्वास्थ्य चौकी जान टाढा भएका बस्तीबासीलाई सुविधा दिन आधारभूत स्वास्थ्य सेवा केन्द्र खोलेर जनशक्ति व्यवस्थापन गर्दै सेवा सुरु गरिएको राईको भनाइ छ । त्रियुगा नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष कुरुङ राईले बाँजगराबासी धेरै पहिलेदेखि स्वास्थ्य सेवाबाट वञ्चित भएकाले वडाले नगरपालिकासँगको सहयोग लिएर गाउँमै सेवा केन्द्र स्थापना गरेको जानकारी दिए ।

 

पुरानो खोप केन्द्र रहेको भवनलाई मर्मत गरेर स्थापना गरिएको सेवा केन्द्रले बाँजगरा, धाप्लाङ, घिर्लिङ, सिम्ले, रातमाटे र खोटाङको वरहापोखरी गाउँपालिकाको सुन्तलेसम्मका नागरिकलाई सेवा दिनेछ । सेवा केन्द्र स्थापनापछि झन्डै १० हजार जनसंख्या लाभान्वित हुने वडाध्यक्ष राईले बताए ।