close

नुवाकोटमा बढ्दै कोरोना संक्रमण

नुवाकोटमा बढ्दै कोरोना संक्रमण

Trulli
ADVERTISEMENT

नुवाकोट–नुवाकोटमा पछिल्लो समय कोरोना संक्रमण दर बढ्दै गएको छ । जिल्लामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएर नियन्त्रणमा लिने प्रयास भइरहेको समय बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीदेखि सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयका कर्मचारीमा समेत कोरोना पुष्टि भएसँगै रोगबाट उच्च सावधानी अपनाउन अपिल गरिएको छ ।


नुवाकोटको त्रिशूली अस्पतालमा २ विशेषज्ञ चिकित्सक, ४ मेडिकल अधिकृतसहित ३० स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले जानकारी दिए ।

 

उनका अनुसार कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर सेवा पुर्‍याउने अधिकांश चिकित्सक–स्वास्थ्यकर्मी भाइरसबाट संक्रमित भएका छन् । ‘अस्पतालका विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, नर्स, पारामेडिक्स, प्रयोगशालाकर्मीलाई लक्षणसहितको समस्या देखिएसँगै गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ’, अस्पतालका मेसु पाण्डेले भने, ‘जाँच गराउन आउने बिरामीको दर बढिरहेको समय स्वास्थ्यकर्मी आफैं संक्रमित भएकाले सेवा दिन कठिनाइ भएको छ ।’

 

अस्पतालको स्त्रीरोग तथा प्रसूति सेवा विभागमा कार्यरत ३ विशेषज्ञ चिकित्सकलाई कोरोना संक्रमण भएपछि सेवा प्रभावित भएको छ । अस्पतालले सूचना जारी गर्दै उक्त विभागबाट उपलब्ध गराइने विशेषज्ञ सेवा केही दिनका लागि प्रभावित भएको जानकारी दिएको छ ।

 

मानिसको भीडभाड बढेको र स्वास्थ्य मापदण्डको पालना नहुँदा संक्रमण दर बढेसँगै सामान्य प्रकृतिका बिरामी तथा केही समयपछि शल्यक्रिया गर्दा पनि हुने बिरामीलाई अहिले अस्पतालमा नआउन अनुरोध गरिएको छ ।

 

प्रशासनका कर्मचारी पनि संक्रमित

 

जिल्ला प्रशासन कार्यालय नुवाकोटका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको तथा केहीलाई रोगसँग मिल्दोजुल्दो लक्षणसहितको स्वास्थ्यमा समस्या देखिएको छ । जिल्लामा सेवा प्रवाहका लागि महत्त्वपूर्ण निकायका रूपमा रहेको प्रशासनका कर्मचारीमा कोरोना देखिएकाले अत्यावश्यक परेकाका लागि मात्रै सेवा लिन आउन आग्रह गरिएको छ ।

 

प्रशासनले सूचना जारी गर्दै कार्यालयको अग्रस्थानमा रहेर सेवा पुर्‍याउँदै आएका केही कर्मचारीमा लक्षणसहितको स्वास्थ्यमा समस्या देखिएकाले सोमबार गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । 


संक्रमणका कारण कर्मचारी आइसोलेसनमा बसेसँगै जनशक्ति नहुँदा सेवा थप प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक सेवाका लागि मात्रै आउन सेवाग्राहीलाई आग्रह गरिएको हो ।

 

अत्यावश्यक सेवा लिन मात्र आउन प्रशासनले अनुरोध गरे पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता, राष्ट्रिय परिचयपत्र, लामो समय रोकेर एक सातादेखि सुरु गरिएको विद्युतीय राहदानी बनाउनेको संख्या भने दैनिक १०० भन्दा बढी पुग्ने गरेका छन् । नुवाकोटमा कोरोनाका सक्रिय संक्रमित सोमबारसम्म १०१ जना पुगेका छन् ।