close

बुटवलका सहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा विस्तार

ज्येष्ठ नागरिक र गर्भवाती महिलालाई घरदैलोमा सेवा

बुटवलका सहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा विस्तार

ज्येष्ठ नागरिक र गर्भवाती महिलालाई घरदैलोमा सेवा

Trulli
ADVERTISEMENT

लुम्बिनी–बुटवल उपमहानगरपालिकाले सञ्चालनमा ल्याएका सहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा विस्तार गरिएका छन् । उपमहानगरपालिकाले सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा आधुनिक प्रयोगशाला सेवासहितको प्राथमिक स्वास्थ्यसेवा विस्तार गर्दै सञ्चालनमा ल्याइएको छ । 

 

सहरी स्वास्थ्य केन्द्रमा विस्तार भएका र ल्याबसहितको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको आकर्षण बढेकाले जनस्वास्थ्यका सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन विशिष्टिकृत सेवासमेत थपेर विस्तार गरिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए । नगरका वडा नं २, १५, १६ र १९ मा सहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा विस्तारसहित व्यवस्थित गरिएको छ । नयाँ संरचनामा नयाँ व्यवस्थासहितको स्वास्थ्य केन्द्र सञ्चालनमा आएका छन् ।

 

नयाँ संरचनामा शुभारम्भ गरिएका स्वास्थ्य केन्द्र र यसअघि नै व्यवस्थित गरिएका समेत गरी बुटवलमा हाल १२ वटा स्वास्थ्य संस्था रहेका छन् । मोतिपुर र सेमलारमा स्वास्थ्य चौकी, नयाँगाउँ र बुद्धनगरमा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र र बाँकी ठाउँमा सहरी स्वास्थ्य केन्द्र रहेका छन् । सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र नयाँ गाउँमा मेडिकल अफिसर, स्वास्थ्यकर्मी र एक्सरे, अल्ट्रा साउण्ड र मधुमेह परीक्षणको सुविधासमेत उपलब्ध छ । यी सबै स्वास्थ्य संस्थामा करिब ७५ प्रकारका औषधि निःशुल्क रुपमा वितरण हुँदै आएको छ । जनस्वास्थ्यको क्षेत्रमा मेडिकल अफिसरसहित ८१ जनाको जनशक्तिले सेवाप्रवाह गरिरहेको छ । 

 

बुटवल उपमहानगरका– १९ वटै वडामा मेडिकल र जनस्वास्थ्य अधिकृतले आधुनिक ल्याबसहित नियमित सेवाप्रवाह गरिरहेका छन् । साना–साना स्वास्थ्य समस्यालाई लिएर पनि उनीहरु स्वास्थ्य संस्थामा जान थालेका छन् । उपमहानगरमा रहेको विभिन्न १८ वटा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले नियमित सेवाप्रवाह गर्दै आएका छन् ।

 

सहरी स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र तथा स्वास्थ्य चौकीमार्फत प्राथमिक स्वास्थ्य सेवालाई प्रभावकारी र विश्वसनीय बनाउने पहल थालिएदेखि नै नगरवासीको आकर्षण बढेको प्रमुख सुवेदीले बताए । सेवाग्राहीको सङ्ख्या मात्रै होइन उनीहरुमा सन्तुष्टि पनि बढाउने गरी सेवाप्रवाहलाई प्रभावकारी बनाउन पनि निर्देशन दिइएको उनको भनाइ छ । 

 

मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरी विश्वसनीय, जवाफदेहीपूर्ण र प्रभावकारी सेवा उपलव्ध गराउने कोसिस गरिएको प्रमुख सुवेदीले बताए । बुटवल उपमहानगरपालिका सञ्चालित सहरी स्वास्थ्य केन्द्रमा सेवा लिनेको सङ्ख्यामा भने उल्लेख्य वृद्धि भएको छ ।

 

 आर्थिक वर्ष २०७४/७५ मा नगरका सम्पुर्ण स्वास्थ्य संस्थाबाट बहिरङग सेवा लिने २१ हजार ४७३ जना रहेकोमा गत आव २०७५/७६ मा १० हजार भन्दा धेरै वृद्धि भयो । त्यसवर्ष मात्रै कूल ३२ हजार ८२१ जनाले सेवा लिएको उपमहानगरको शिक्षा, स्वास्थ्य तथा जनसङ्ख्या महाशाखाको तथ्याङ्कमा छ । गत आवमा यो सङ्ख्या अझ बढेको छ । 

 

स्वास्थ्य संस्था नभएका वडामा वडा क्लिनिक सञ्चालन गरिएको थियो । जसअन्तर्गत आव २०७४/७५ मा चार हजार ७०० चार जनाले सेवा लिएकोमा गत आव २०७५/७६ मा वृद्धि भई नौ हजार ५९० जना सेवाग्राही पुगे । २०७६/७७ मा त्यो सङ्ख्यामा वृद्धि भएर ४२ हजार ३५४ जनाले सेवा लिएका छन् भने २०७७/७८ मा ४५ हजार ६२० जनाले र चालू आवको हालसम्मको अवधिमा मात्रै ३८ हजार जतिले समग्र स्वास्थ्य संस्थाबाट सेवा लिएको स्वास्थ्य शाखाका प्रमुख कल्पना भट्टराईले जानकारी दिइन् । 

 

यो सङ्ख्या उपमहानगर मातहत रहेका १२ वटा संस्थामा सेवा लिन आएका सेवाग्राहीको मात्रै हो । बुटवलमै रहेका, आम्दा, प्रादेशिक अस्पताल र अरु अस्पतालमा सेवा लिनेको सङ्ख्या यसमा समावेश छैन । बुटवल उपमहानगरले सिद्धार्थ बाल तथा महिला अस्पतालमा उपमहानगरको अलग्गै खोप भण्डार केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याएको छ । 

 

ज्येष्ठ नागरिक र गर्भवाती महिलालाई घरदैलोमा सेवा

 

उपमहानगरपालिकाले नगरमा बसोबास गर्दै आएका ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरदैलोमै चौमासिक रुपमा पुगेर स्वास्थ्य जाँच र निःशुल्क औषधि उपलव्ध गराउँदै आएको छ । ‘नगरप्रमुख ज्येष्ठ नागरिक घरदैलो निःशुल्क स्वास्थ्य परीक्षण’ शीर्षकमा सुरु भएको यो कार्यक्रम अन्तर्गत करिब १० हजार जना ज्येष्ठ नागरिकले सेवा लिएका छन् ।

 

 यो कार्यक्रम कोभिड महामारी र स्वास्थ्यमापदण्डको पालना गर्दै अहिले पनि जारी राखिएको छ । यस्तै गर्भवती तथा सुत्केरी महिलालाई पनि घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिएको छ । पहिलो चरणमा सुत्केरीलाई घरमै पुगेर पोषण सामग्री र भत्ता प्रदान गरिएको छ ।

 

 यस्तै गर्भवतीलाई स्वास्थ्य संस्थामा आकर्षित गर्न क्याल्सियम चक्कीसहित पोषण साम्रगी सहयोग गरिएको छ । महिलामा स्वास्थ्य तथा सरसफाइसम्बन्धी क्षमता अभिवृद्धि गराउने उद्देश्यले उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम सञ्चालन गर्नेमा बुटवल मुलुकमै नमूना हो । यस कार्यक्रम अन्तर्गत तीन हजार जना लाभान्वित भएका छन् ।