close

सूर्यविनायकको प्रशासनिक सेवा प्रभावित

सूर्यविनायकको प्रशासनिक सेवा प्रभावित

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिसहित २३ कर्मचारीलाई एकै पटक कोरोना महामारी संक्रमण भएपछि प्रशासनिक सेवा प्रभावित बनेको छ । 

 

कार्यालयका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका प्रमुखसहितलाई कोरोना संक्रमण भएपछि कार्यालयले नियमित रूपमा दिँदै आएको सेवा प्रभावित भएको हो । नगरपालिका कार्यालय मात्रै नभई विभिन्न वडाका वडाध्यक्षसहित कर्मचारीलाई कोरोना भएपछि केही वडा कार्यालयसमेत बन्द भएका छन् ।

 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कँडेल, स्वास्थ्य शाखाका प्रमुख वसन्त चापागाईंसहितका कर्मचारी, शिक्षा शाखाका सबै कर्मचारी, नक्सा शाखाका सबै कर्मचारी, योजना शाखाका सबै कर्मचारी र नगर प्रहरी ९ जनामा कोरोना संक्रमण भएको नगरपालिकाका पूर्वाधार विकास समिति संयोजक एवं वडा नम्बर ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए ।

 

संक्रमित कर्मचारी होम आइसोलेसनमा छन् । कार्यालय खुलै रहेको नगरप्रमुख वासुदेव थापाले बताए । ‘कोरोना भएपछि कर्मचारी होम आइसोलेसनमा छन्, अत्यावश्यकबाहेक अरू सेवा दिन सकिएको छैन’, उनले भने । नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीको संख्या ह्वात्तै घटेको छ । 

 

सूर्यविनायक नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सानुकाजी कायस्थसहित कर्मचारीलाई संक्रमण भएपछि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ । कर्मचारीलाई संक्रमण देखिएपछि केही समयका लागि आलोपालो प्रणालीमा सेवा सञ्चालन गर्नेबारे छलफल भएको उनले बताए ।

 

मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा पनि अत्यावश्यकबाहेकका सेवा प्रभावित भएका छन् । मध्यपुरथिमिका नगरप्रमुख मदनसुन्दर श्रेष्ठलाई पनि कोरोना संक्रमण भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार अहिले जिल्लामा १ हजार १०० पुरुष र ९५१ महिला सक्रिय कोरोना संक्रमित छन् ।