close

सीमामा हेल्थडेस्क प्रभावकारी भएन

होल्डिङ सेन्टर बनाउन रकम माग

सीमामा हेल्थडेस्क प्रभावकारी भएन

होल्डिङ सेन्टर बनाउन रकम माग

Trulli
ADVERTISEMENT

बुटवल– नेपाल–भारत सीमानाका बेलहियाबाट सङ्क्रमित भएका पनि  निर्वाध आवतजावत गर्न थालेका छन् । कोरोनाको सङ्क्रमण रोकथाम गर्न सीमानाकामा सामान्य अस्थायी हेल्थडेस्क र होल्डिङ सेन्टर बनाइए  पनि प्रभावकारी नभएका कारण त्यस्तो समस्या देखिएको स्थानीयवासीले बताएका छन् । नाकामा सामान्य ज्वरो मापन मात्रै गरिएको छ । भारतीय बजारमा किनमेल गर्न जाने नेपाली उपभोक्ताका कारण बढेको भीडले पनि सङ्क्रमण बढाएको अनुमान गरिएको छ । 

 

रुपन्देहीको बेलहिया नाका हुँदै दैनिक कैयौँ नेपाली भारतीय बजारमा सामान खरिद गर्न जान्छन् । उनीहरुको न कोरोना परीक्षण भएको छ, न उनीहरु स्वयंले स्वास्थ्य मापदण्ड पालना गर्ने गरेका छन् । कोरोना सङ्क्रमण रोकथामका लागि स्थानीय प्रशासनले जारी गरेको आदेश पनि कार्यान्वयन भएको पाइदैन । भारतीय पर्यटक र भारतमा काम गरेर  गरेर फर्किने नेपालीबाहेक सामान खरिद गर्न जानेको कोरोना परीक्षण नगरिएकाले सङ्क्रमण फैलाउने जोखिम झनै बढाएको बेलहिया हेल्थ डेस्कका स्वास्थ्य संयोजक लालमोहन चौधरी बताउँछन् । 

 

पछिल्लो समय बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय र नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । नाकामा स्वास्थ्य मन्त्रालय, सिद्धार्थनगर नगरपालिका र विभिन्न सङ्घसंस्थाले हेल्थडेस्क राखेका छन् । सुरक्षाकर्मी पनि तैनाथ छन् । ‘यसरी आवतजावत गर्नेलाई परीक्षण त टाढाको कुरा हो सोधखोज र रोकतोकसमेत गरिएको छैन’, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वल कसजु भन्छन् ।  रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सीमानाकामा स्वास्थ्य सर्तकता र स्वास्थ्य जाँचलाई कडाइ गरिएको  भने पनि त्यहाँको जनशक्तिले त्यो भीड थेग्नसक्ने अवस्था देखिँदैन । बेलहिया नाका हुँदै दैनिक ५०० को हाराहारीमा मालबाहक सवारी साधन भित्रिन्छन् तर  चालक, सहचालकको पनि कोरोना परीक्षण गरिएको पाइदैन । नाकामा सङ्क्रमण देखिएका पनि होम आइसोलेसनमा बस्ने सर्तमा सिधै घर जाने गरेका बताइन्छ । 

 

भारतमा बढ्दो कोरोना सङ्क्रमणका कारण रोजगारीमा गएका नेपाली फर्कने क्रम बढ्दो छ ।  बेलहिया नाकाबाट करिब तीन हजार, रुपैडिया नाकाबाट करिब चार हजार, कृष्णनगर, महेशपुरबाट करिब दुई हजार नेपाली केही समययता दिनहुँ आइरहेका छन् । योबाहेक अन्य जिल्लाका साना नाकाबाट पनि उत्तिकै सङ्ख्यामा नागरिक आइरहेका छन् । 

 

कोरोना सङ्क्रमण बढे पनि अहिले खोप कार्डका आधारमा गाडीका गाडी भारतीय पर्यटक तीर्थस्थल र पर्यटकीयस्थल घुम्न आएका देखिन्छ । बेलहिया नाकाबाट मात्र दैनिक सरदरमा ७००  (मालबाहक तथा यात्रुबाहक) गाडी नेपाल आइरहेको बेलहियास्थित इलाका प्रहरी कार्यालय र भैरहवा भन्सार कार्यालयले जनाएको छ  तर सीमामा न त स्वास्थ्य परीक्षणका लागि पर्याप्त जनशक्ति नै छ, न होल्डिङ सेन्टर नै । सीमित स्वास्थ्यकर्मीबाट काम चलाइएको नाकामा स्वास्थ्यकर्मी आफैँ सङ्क्रमित भएका छन् । बेलहिया नाकाका ल्याब टेक्निसियन लोकनाथ कँडेल स्वास्थ्य जाँच गर्ने आठ स्वास्थ्यकर्मी सङ्क्रमित भएको बताउँछन्  । जनस्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकाल सतर्कता अपनाउँदै काम गर्दा पनि स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको उल्लेख गर्छन्  । 

 

नाकामा दैनिक ५०० भन्दाबढीको एन्टिजेन परीक्षण हुने गरे पनि प्रवेश गर्ने सबैको परीक्षण हुँदैन । यसअघि पनि भारतबाट आउने व्यक्तिबाटै कोरोना सङ्क्रमण फैलिएको भन्दै उद्योगी तथा व्यवसायीले सीमानाकामा परीक्षणलाई प्रभावकारी बनाउन माग गरेको बुटवल उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष कसजु  स्मरण गराउँछन् । कोरोना जाँच सहजरुपमा गरेर ढुक्कसँग नेपाल आउने वातावरण मिलाउनुपर्नेमा उनले जोड दिए । त्यसो त प्रदेश सरकारले यसअघि बनाउने भनिएको होल्डिङ सेन्टर अहिलेसम्म बनेका छैनन् । रुपन्देही, कपिलवस्तु र बाँकेमा बनाउने भनिएको होल्डिङ सेन्टरका लागि रुपन्देहीमा जग्गाको व्यवस्था  नै भएन, बाँकेमा पनि निकै ढिलो काम भएको छ भने कपिलवस्तुको कृष्णनगरमा काम अन्तिम चरणमा पुगेको छ । प्रदेश स्वास्थ्य कार्यालयका प्रवक्ता पुष्पराज पौडेलका अनुसार बजेट अभावभन्दा पनि काम नै समयमा सुरु नभएर ढिलाइ भएको हो । 

 

होल्डिङ सेन्टर बनाउन रकम माग

 

प्रदेश सरकारले भारतसँग सीमा जोडिएका तीन नाकामा होल्डिङ सेन्टर बनाउन सङ्घीय सरकारसँग रकम माग गरेको छ । भारतसँग सीमा जोडिएका प्रदेशका छ जिल्लामध्ये तीन मुख्यनाका रहेका रुपन्देहीको भैरहवा, बाँकेको नेपालगञ्ज र कपिलवस्तुको कृष्णनगरमा होल्डिङ सेन्टर बनाउन योजनासहित रु १० करोड बजेट माग गरिएको हो । मुख्यमन्त्री कूलप्रसाद केसीले प्रधानमन्त्री शेरबहादुर देउवासँग रकम उपलब्ध गराउनका लागि आग्रह गरेका छन् । 


लामो समयपछि भारतबाट आएकालाई नाकामा गरिएको एन्टिजेन परीक्षणका भरमा प्रवेश गर्न दिँदा कोरोना सङ्क्रमण बढेको हुनसक्ने भन्दै प्रदेशका अस्पतालले तयारी थालेको स्वास्थ्य निर्देशक डा विनोदकुमार गिरी बताउँछन् । ‘सङ्क्रमित बढ्ने र अस्पताल भरिन सक्ने आँकलनसहित उपचारका लागि अस्पताललाई तयारी अवस्थामा राखेका हौँ’, उनी भन्छन्  ।