close

सूर्यविनायकमा ३७ शय्याको अस्पताल निर्माण

सूर्यविनायकमा ३७ शय्याको अस्पताल निर्माण

Trulli
ADVERTISEMENT

भक्तपुर–भक्तपुरको सूर्यविनायक अस्पतालले साढे ८ करोड रुपैयाँ लागतमा ३७ शय्याको अस्पताल निर्माण गरेको छ ।भक्तपुर इँटा टायल कारखानाको २५ रोपनी जग्गामा फैलिएको अस्पतालको पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

 

अस्पताललाई नगरपालिकाका जनप्रतिनिधिले आफ्नो कार्यकालमा भएका ५ महत्त्वपूर्ण कार्यको सूचीमा राखेका छन् । शुक्रबार नगरपालिकाले गरेको विकास निर्माणका कामको अनुगमनका क्रममा स्थानीय जनप्रतिनिधिले अरनिको राजमार्ग छेउमा पर्ने यो अस्पतालबाट नगरबासीका लागि मात्रै नभएर नगरबाहिरका सर्वसाधारणसमेत लाभान्वित हुने विश्वास व्यक्त गरे ।

 

अस्पतालमा भेन्टिलेटरसहित ४ शय्याको आईसीयू, १० शय्याको एचडीयू, १३ साधारण र १० शय्याको आकस्मिक कक्ष रहेको नगरपालिकाको वडा नम्बर ८ का वडाध्यक्ष किरण थापाले बताए ।

 

अस्पतालमा एक्सरे, साधारण शल्यचिकित्सा, औषधी पसल, ओपिडी सेवा उपलब्ध रहेको थापाले जानकारी दिए । अस्पतालमा सरकारको स्वास्थ्य बिमा सुविधाअन्तर्गतको उपचार गर्ने गरिएको वडाध्यक्ष थापाको भनाइ छ ।

 

राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना र नगरपालिकाको समन्वयमा भएको कार्यक्रममा सञ्चारकर्मीले उत्कृष्ट ५ आयोजनाको अवलोकन गरे । अनुगमनका क्रममा नगर अस्पतालका अतिरिक्त वडा नम्बर १० को कार्यालय भवन, सडक, डोलेश्वर मन्दिर र सीपाडोल खानेपानी आयोजनाको अवलोकन गरिएको थियो ।

 

अवलोकनमा नगरप्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, वडाअध्यक्षहरू किरण थापा, उपेन्द्र केसी, शिवराम राउत र नगरपालिकाका निर्देशक जनक न्यौपानेले विकास योजनाबारे जानकारी दिए ।

 

सूर्यविनायक नगरपालिका उपप्रमुख बस्नेतले यो अवधिमा नगरले यो क्षेत्रमा रहेको राष्ट्रिय प्राणी उद्यान, चित्तपोलमा झोलुंगे पुल, नगरभित्रको शिव सर्किट, हनुमन्ते करिडोर निर्माणलगायत सडक र पुल निर्माणका महत्त्वपूर्ण काम सम्पन्न भएको बताइन् ।

 

नगरपालिकाले नमुना वडा कार्यालयको रूपमा वडा नम्बर १० मा कार्यालय निर्माण गरेको छ । नगर निर्देशक जनक न्यौपानेका सो कार्यालय भवनको लागत १ करोड ६८ लाख रुपैयाँ छ ।

 

साढे ३ तलाको उक्त कार्यालय २१ फागुनमा उद्घाटन गर्ने तयारी छ । सो कार्यालयबाट अहिले वडाले दिँदै आएका सबै सेवाका साथै वडाबाट भविष्यमा दिने सेवासमेत दिन सकिने गरी पूर्वाधार तयार गरिएको छ ।

 

नगरपालिकाले केदारनाथको शिर मानिएको डोलेश्वरमा पनि योजना तयार पारेको छ । वडा नम्बर ८ का वडाध्यक्ष थापाले मन्दिर संरक्षण तथा विकासका लागि नगरपालिकाले गुरुयोजना बनाएर काम अघि बढाएको जानकारी दिए ।

 

मन्दिर निर्माणका लागि ५५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएकामा हालसम्म १२ करोड खर्च भइसकेको थापाले बताए । गुरुयोजनाका लागि संघीय, प्रदेश सरकार र नगरपालिकाको सह–लगानी एवं विभिन्न दाताको आर्थिक सहयोग प्राप्त भएको उनको भनाइ छ ।

 

सहकारी मोडलमा सञ्चालन भएको सिपाडोल खानेपानी आयोजनाले समेत नगर क्षेत्रका झन्डै ८ सय घरका लागि दैनिक ३ घन्टादेखि २४ घन्टासम्म पानी आपूर्तिको व्यवस्थापन गर्दै आएको छ । आयोजनाअन्तर्गतका सबै उपभोक्तालाई सहकारीमा अनिवार्य सहभागिता गराएर सहकारीमार्फत आर्थिक उपार्जनका कामसमेत गरिएको छ ।