close

स्वास्थ्य क्षेत्रमा फड्को मार्दै इलाम 

स्वास्थ्य क्षेत्रमा फड्को मार्दै इलाम 

Trulli
ADVERTISEMENT

इलाम- संविधानमा सबै नागरिकले निःशुल्क स्वास्थ्य सेवा पाउने उल्लेख छ । निःशुल्क स्वास्थ्य सेवा पाउने जनताको मौलिक हक अहिले आंशिक रूपमा मात्रै कार्यान्वयनमा आएको छ ।  स्थानीय सरकारले आफ्नो स्रोत साधनले धानेसम्म जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराइरहेका छन् । इलाम नगरपालिकाले सीमित स्रोत–साधनबाटै कोरोना महामारी नियन्त्रणदेखि स्वास्थ्य पूर्वाधार निर्माणमा जनताले अनुभूत गर्ने काम गरिरहेको छ । 


हरेक क्षेत्रको एकै पटक विकास गर्नुपर्ने मुख्य जिम्मेवारी बोकेर इलाम नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भए । जबसम्म नागरिकको स्वास्थ्य सबल हुँदैन तबसम्म अन्य परिवर्तनको अर्थ रहँदैन भनेर जनप्रतिनिधिले स्वास्थ्य क्षेत्रमा लगानी बढाए । तत्कालभन्दा पनि दीर्घकालीन प्रतिफलसहितका योजना बनाए । अहिले नगरपालिकामा ७ वटा स्वास्थ्य चौकी, २ वटा सहरी स्वास्थ्य केन्द्र, २ वटा आधारभूत उप–केन्द्रसँगै सामुदायिक क्लिनिक, मातृ स्वास्थ्य क्लिनिक र आयुर्वेद औषधालयको पूर्वाधार निर्माण भएका छन् । स्वास्थ्य क्षेत्रको पहुँच कम भएका ठाउँमा स्वास्थ्य शिविरसमेत सञ्चालन भइरहेको इलाम नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रमन्ता पौडेलले बताइन् । 

 

नगरपालिकाका जनप्रतिनिधिले साढे चार वर्षे कार्यकालमा ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना, ज्येष्ठ नागरिक हेरचाह गर्नेलाई श्रवणकुमार पुरस्कार, ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा, १ सय ११ जना महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक १ हजार प्रोत्साहन भत्ता, सुत्केरी सुविधाअन्तर्गत ४ हजार सहयोग, अपांगता भएका व्यक्तिलाई सहायक सामग्री वितरण, वडा स्तरमा स्वास्थ्य शिविर सञ्चालन, घातक रोगीलाई प्रतिव्यक्ति १० हजारका दरले आर्थिक सहयोग, मासिक रूपमा १० वटा स्वास्थ्य चौकीमा ज्येष्ठ नागरिक क्लिनिक सञ्चालन, इलाम अस्पतालमा तीन वटा डायलासिस मेसिन जडान गरिएको छ ।

 

यस्तै, नवजात शिशुलाई खोप र ज्येष्ठ नागरिकलाई निःशुल्क औषधीसहित स्वास्थ्य जाँच कार्यक्रमले नगरपालिकामा दीर्घरोगीले सहज उपचार पाउने अवस्था सिर्जना भएको सहरी स्वास्थ्य केन्द्र भन्ज्याङका अहेब वसन्तकुमार सुवेदीले जानकारी दिए ।

 

नगरपालिकाको लगानीमा आँखा अस्पताल सञ्चालनमा आएको छ । आर्थिक वर्ष ०७७/७८ मा रकमान्तर गरेर ५० लाख र ०७८÷७९ मा १ करोेड रुपैयाँ विनियोजन गरेको छ । यीमध्येको ५३ लाख २४ हजार रुपैयाँ अस्पतालको  पूर्वाधार निर्माण र ४ लाख ६५ हजार रुपैयाँ अस्पताल सञ्चालनमा खर्च गरेको छ । आँखाका सबै प्रकारका रोगको उपचार गर्ने केन्द्र बनाउने नगरपालिकाको दीर्घकालीन योजना सफल हुँदै गएको इलाम नगरपालिकाका नगरप्रमुख महेश बस्नेतले बताए ।

 

लगानी वृद्धि गर्दै स्वास्थ्य क्षेत्रको विकास गर्दै गर्दा कोरोना महामारीको असरबाट नगरपालिका पनि अछुतो रहेन । तर, नगरपालिकाले निम्नानुसारको पहल गर्दा नागरिकलाई अत्यधिक संक्रमित हुनबाट जोगाउन सफल भयो । नगरपालिकाले घरदैलोमा गएर एन्टिजेन परीक्षण, मुख्य बजारमा हात धुन पानीट्यांकीको व्यवस्था, प्रत्येक वडामा २४ घन्टे हेल्प डेस्क सुविधा, सबै क्षेत्रमा दैनिक रूपमा क्लोरिन छर्कने तथा सरसफाइ, दुई स्थानमा २५५ जना क्षमता भएको क्वारेन्टिन निर्माण, १२ वटा वडाका २५ सय घरपरिवारलाई खाद्यान्न राहत, निःशुल्क एम्बुलेन्सको सेवा, कोभिडबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्न शव वाहन, १५ शय्याको जिल्ला समन्वय समितिको भवनमा कोभिड अस्पताल निर्माण गरिएको छ ।

 

आयुर्वेदिक उपचार पद्धतिप्रति नागरिकलाई आकर्षित गर्न आर्युवेद औषधालयसमेत सञ्चालन गरिएको छ । साढे चार वर्षको समयमा स्वास्थ्यमा गरिएको लगानीकै प्रतिफल यति धेरै परिवर्तन देखिन थालेका छन् ।