close

आयुर्वेद र आधुनिक औषधोमूलो उपचारविधि अंगाल्दै अर्जुनधारा

आयुर्वेद र आधुनिक औषधोमूलो उपचारविधि अंगाल्दै अर्जुनधारा

Trulli
ADVERTISEMENT

झापा–परापूर्वकालदेखि चलिआएको आयुर्वेद औषधी र उपचार पद्धतिलाई थप विस्तार गर्न संघ, प्रदेश र पालिकाहरूले सक्दो प्रयास गरिरहेका छन् । यसका लागि देशका विभिन्न स्थानमा जडीबुटी खेती पनि भइरहेका छन् । झापाको अर्जुनधारा नगरपालिकाले पूर्वीय ज्ञान मानिने आयुर्वेदिक उपचार पद्धति र आधुनिक औषधोमूलो उपचारविधिलाई सँगसँगै अगाडि बढाएर पालिकाबासीको स्वास्थ्य सेवामा सहयोग पुर्‍याउँदै आएको छ ।

 

नागरिकको मौलिक अधिकारभित्र निःशुल्क स्वास्थ्य सेवा पाउने व्यवस्था छ । यही अधिकारलाई कार्यान्वयन गर्ने क्रममा अर्जुनधाराका जनप्रतिनिधिले नागरिकलाई आधुनिक र परम्परागत औषधोपचार सेवा सहज रूपमा उपलब्ध गराउन पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छन् । नगरपालिकाले निर्माण गरेको शनिश्चरे आयुर्वेद औषधालयबाट अहिले स्थानीयले स्वास्थ्य सेवा लिँदै आएका छन् ।

 

नगरपालिकाले पालिकाबासीलाई उपचार सेवा मात्र नदिएर दैनिक खानपानमा आएको परिवर्तन, आधुनिक जीवनशैलीले स्वास्थ्य अवस्थामा पर्ने नकारात्मक असरजस्ता विषयमा सचेतना दिँदै आएको छ । 

 

अर्जुनधारा नगरपालिकाकी दानमाया शिवाकोटी घुँडा र कुकुर्चो अचानक दुख्न थालेपछि थला परिन् । के भएर खुट्टा दुखेको हो, उनलाई पत्तै भएन । खुट्टाले टेक्नै नमिलेपछि उनी नगरपालिकाले सञ्चालनमा ल्याएको शनिश्चरे आयुर्वेद औषधालयमा पुगिन् । शनिश्चरे आयुर्वेद औषधालयको सेवा लिएपछि अहिले पहिलेजस्तै फटाफट हिँड्न सक्ने भएको उनले बताइन् । 

 

दानमायाकै जस्तो समस्या अर्जुन राईलाई पनि थियो । उनको खुट्टा मात्र होइन, हातसमेत चल्दैन थियो । तर, अहिले आयुर्वेद औषधीमूलोपछि स्वास्थ्यमा सुधार भइरहेको राई सुनाउँछिन् ।

 

दानमाया र अर्जुन राईजस्ता झन्डै १ सय  बिरामीले यो औषधालयबाट उपचार सेवा पाएका छन् ।  आधुनिक र आयुर्वेदिक पद्धतिबाट समेत बिरामीको उपचार गर्ने लक्ष्यसहित नगरपालिकाले झापाकै पुरानो शनिश्चरे आयुर्वेद औषधालय सञ्चालन गरेपछि उपचार सम्भव भएको हो । नगरपालिकाले आयुर्वेद उपचारलाई महत्त्व दिइरहेको छ । त्यसैले वडा नम्बर ११ र ३ मा यो औषधालयको शाखासमेत विस्तार गरिएको अर्जुनधाराका नगरप्रमुख हरिकुमार रानाले जानकारी दिए ।

 

यी शाखामा थेरापी सेवा उपलब्ध छ । यो औषधालयले ओपिडी सेवा सञ्चालन गरेर बिरामीको स्वास्थ्य परीक्षण र थेरापीसमेतको सेवा दिन्छ । खानपान र आधुनिक जीवनशैलीका कारण मानिसलाई गम्भीर प्रकृतिका रोग लागिरहेका कारण खाने बानीमा सुधार गर्न जनचेतना जगाउने काम हुँदै आएको शनिश्चरे आयुर्वेन औषधालयका प्रमुख अनिल ठाकुरले बताए ।

 

नगरपालिकाका जनप्रतिनिधिले आधुनिक औषधी उपचारविधि र आयुर्वेदिक विधिलाई सँगसँगै अघि बढाउने नीति लिएका छन् । एलोपेथिक र आयुर्वेदिक उपचार पद्धतिलाई एकसाथ अगाडि बढाउँदा नगरबासीले सहज ढंगले उपचार सेवा पाइरहेका छन् ।