close

स्वास्थ्य पूर्वाधारमा फड्किँदै चैनपुर

स्वास्थ्य पूर्वाधारमा फड्किँदै चैनपुर

Trulli
ADVERTISEMENT

संखुवासभा–नागरिकले सहज र सुलभ मूल्यमा घरगाउँमै उपचार पाउने अवस्था सिर्जना गर्नु अहिले मुलुकका लागि चुनौती हो । नागरिकले उपचार अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न स्वास्थ्य क्षेत्रमा लगानी आवश्यक थियो । यही आवश्यकतालाई बुझेका संखुवासभाको चैनपुर नगरपालिकाका जनप्रतिनिधिले पाँच वर्षमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति गरेका छन् । 

 

चैनपुर नगरपालिका ०७१ मा घोषणा भएको नगर हो । घोषणा गर्दा यहाँ पाँच वटा मात्रै इलाका स्वास्थ्य कार्यालय थिए । भूगोलका कारण सोचेअनुरूपको विकास नगरमा थिएन । तर, अहिले अवस्था फेरिएको छ । जनप्रतिनिधिको पाँच वर्षको सक्रियताले अहिले ११ वटै वडामा स्वास्थ्य केन्द्र र कार्यालय स्थापना भएका छन् । १, ३, ४, ९ र १० नम्बर वडामा रहेका स्वास्थ्य कार्यालय अहिले केन्द्रमा परिणत भएका छन् । 

 

नगरका २, ५, ७ र ८ र ११ नम्बर वडामा हालै स्वास्थ्य केन्द्र भवन निर्माण भएका छन् । वडा नम्बर २ र ११ को स्वास्थ्य केन्द्रमा सेवा सुरु भइसकेको छ । नगरपालिकाको कार्यालय रहेको वडा नम्बर ६ मा प्राथमिक स्वास्थ्य केन्द्र बनेको छ । अहिले १५ शय्याको नगर अस्पताल निर्माण अघि बढेको छ भने अक्सिजन प्लान्टसमेत अस्पतालमा व्यवस्था गरिने चैनपुरका नगरप्रमुख भरतकुमार खत्रीले जानकारी दिए ।

 

भौतिक पूर्वाधार निर्माण मात्र नभई नगरपालिकाले नगरबासीको स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेको छ । नगरपालिकाले मातृ र शिशु मृत्युदर घटाउन शिशु पोषण र गर्भवतीलाई विशेष ध्यान दिँदै आएको छ । स्वास्थ्य चौकीमै आएर बच्चा जन्माउन प्रोत्साहन गर्ने क्रम बढेको छ । गर्भवतीले बर्थिङ सेन्टरमा आएर बच्चा जन्माउने र नियमित स्वास्थ्य परीक्षण गर्न थालेका छन् । २४ घन्टे बर्थिङ सेन्टरमा यो सेवा उपलब्ध हुन थालेको संखुवासभाको खरांग स्वास्थ्य चौकीकी अनमी अप्सरा लुुइँटेल बताउँछिन् ।

 

नगर उपप्रमुख मोना श्रेष्ठले नगरबासीका घरमै पुगेर बर्थिङ सेन्टरको महत्त्वबारे चेतना फैलाउने गरेकी छन् । नगरमा कोही गर्भवती भएको जानकारी पाएपछि घरमै गएर फोलिक एसिड र आइरन चक्कीको प्रयोग र महत्त्वबारे जानकारी गराउने गरिएको उनको भनाइ छ । गर्भवतीको नियमित स्वास्थ्य परीक्षण गराउन प्रोत्साहन गर्ने काम जनप्रतिनिधिबाट हुँदै आएको नगर उपप्रमुख मोना श्रेष्ठले बताइन् ।

 

स्वास्थ्यमा आवश्यक परिवर्तन आइरहँदा कोरोना महामारीको चपेटामा चैनपुर पनि प-यो । तर, नागरिकको स्वास्थ्यमा ठूलो चुनौती थपेन । जनप्रतिनिधिले स्वास्थ्य चौकी र कार्यालयबाट संक्रमितको निगरानी र स्वास्थ्योपचारमा जोड दिए । विकास निर्माणभन्दा नागरिकको जीवन महत्त्वपूर्ण भन्दै नगरपालिकाले आइसोलेसन र क्वारेन्टिन निर्माणमा समय खर्चियो ।

 

अक्सिजनसहितको व्यवस्था, हेल्थ डेस्क स्थापनाजस्ता कामले समुदायसम्म कोरोना फैलिनबाट रोक्न जनप्रतिनिधि सफल भए । संक्रमितलाई पोषणयुक्त खानेकुरा वितरण गरेर महामारीमा पनि नागरिकको मन जित्ने प्रयास गरिएको उपप्रमुख श्रेष्ठको भनाइ छ ।

 

नागरिकको आधारभूत आवश्यकतामध्येको स्वास्थ्य क्षेत्रलाई सहज ढंगले सञ्चालन गर्न अहिले सडक सञ्जाल निर्माण गरिएको छ । स्वास्थ्य चौकी आउजाउ गर्न सडकका कारण नागरिकलाई निकै सहज भएको छ । जनप्रतिनिधिको अग्रसरताले २०८८ सम्म स्वास्थ्य सेवाको पहुँच बाहिर परेकालाई समेट्ने राष्ट्रिय आकांक्षा पूरा हुने आधारशिला तयार भएको छ ।