close

नगर अस्पताल भवन शिलान्यासमै सीमित

नगर अस्पताल भवन शिलान्यासमै सीमित

Trulli
ADVERTISEMENT

पर्वत । फलेवास नगरपालिकाको नगर अस्पताल निर्माण अलपत्र परेको छ ।  ‘एक स्थानीय तह, एक आधारभुत अस्पताल’ कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको नगर अस्पताल अलपत्र परेको हो । 

तीन वर्षअघि तत्कालीन नगरप्रमुख पदमपाणि शर्माले सो नगर अस्पतालको भवन शिलान्यास गरेका थिए । अस्पताल बनाउन भन्दै खनिएको घडेरीमा अहिले ठूला– ठूला बोट उम्रिएका छन् । घडेरी सम्याउनका लागि समथर बनाइएको जग्गाबाटै अनावश्यक ढुङ्गा–माटो निकासी भएपछि निर्माणले गति लिनसकेको छैन ।

खनिएकै घडेरीका कारण अहिले भइरहेको देवीस्थान स्वास्थ्यचौकीको भवनसमेत जोखिममा परेको छ । अस्पताल भवन निर्माण त परै जाओस् भइरहेको स्वास्थ्यचौकीको भवन जोगाउनका लागि नाली खन्ने काम भइरहेको फलेवास वडा नं ६ का अध्यक्ष नवीन श्रेष्ठले बताए । घडेरी खन्ने क्रममा त्रुटि भएकाले समस्या भएको उनले जानकारी दिए । 

साविकको भवन जोगाउनका लागि रोकथाम गर्न थालिएको छ । घडेरी खन्ने नाममा अनावश्यक खर्च गरिएको छ । वडा नं ६ मा रहेको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १४ शय्याको अस्पताल निर्माण गर्न थालिएको थियो ।

निर्माण व्यवसायी र प्राविधिक सबैको मिलेमतोमा कमजोरी भएको जनप्रतिनिधिले नै बताउने गरेका छन् । अस्पतालको घडेरी सम्याउँदासमेत रु २० लाखभन्दा बढी खर्च भएको नगरका आर्थिक संयोजक मानबहादुर कुँवरले बताए । ‘डिपिआर’समेत नगरी खनिएको घडेरीमा चाहिनेभन्दा बढी ढुङ्गा–माटो निकालिएपछि समस्या भएको उनले बताए ।  

उक्त नगर अस्पतालको निर्माणलाई अघि बढाउन अहिले पनि कुनै पहल भएको छैन । तत्कालीन सरकारले एक पालिका एक आधारभूत अस्पताल बनाउने निर्णयसँगै सुरु भएको अस्पताल निर्माणले गति नलिँदा स्थानीय चिन्तित बनेका छन् । नगरका प्रवक्ता अच्युत तिवारीले अस्पतालको काम अघि बढाउनेबारे कार्यपालिकामा छलफल भइरहेको जानकारी दिए । सोही ठाउँमा बनाउने वा अन्यत्र जग्गा व्यवस्थापन गरेर बनाउनेबारे आवश्यक निर्णय गरेर अघि बढ्ने तयारी भएको उनले बताए । 

स्थानीय राजकुमार क्षेत्रीले अस्पताल बनाउने नाममा अनावश्यक खर्च गरिएको आरोप लगाए । जमिनको भौगोलिक अवस्था कमजोर भएकाले अस्पताल बन्न नसकेको उनको भनाइ छ । केही जनप्रतिनिधिको स्वार्थका कारण अस्पताल बनाउने ठाउँ नै खण्डहरजस्तो बनेको उनको भनाइ छ । नगर अस्पताल निर्माणका लागि संघीय सरकारले रु १० करोड ६३ लाख विनियोजन भएको भए पनि काम हुन नसक्दा बजेट ‘फ्रिज’ हुने सम्भावना बढेको छ ।