close

विकट गाउँ बेलचौरमा ‘स्वास्थ्य सेवा केन्द्र’

विकट गाउँ बेलचौरमा ‘स्वास्थ्य सेवा केन्द्र’

Trulli
ADVERTISEMENT

स्याङ्जा। विकट मानिने गल्याङ–९ बेलचौरमा आधारभूत स्वास्थ्यसेवा केन्द्र सञ्चालनमा आएको छ । गाउँमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएपछि बेलचौर तथा आसपासका  बासिन्दाले सामान्य स्वास्थ्य समस्याको उपचारका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको छ । 

यहाँका बासिन्दामा स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखिँदासमेत गल्याङ बजार तथा पाल्पाको हुँगी जानुपर्ने बाध्यतामा रहेको स्थानीय नरेन्द्रप्रसाद अर्यालले बताए। 

‘वडा नं ९ को साङ्लियामा रहेको स्वास्थ्य चौकीमा जान हामीलाई अपायक थियो’, उनले भने, ‘आफ्नै गाउँमा स्वास्थ्य सेवा केन्द्र स्थापना भई सञ्चालनमा आएसँगै निक्कै सहज भएको छ ।’

स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण गर्न स्थानीय यमनारायण अर्यालले एक रोपनी तीन आना जग्गा निःशुल्क उपलब्ध गराएका हुन्। ‘स्वास्थ्यसम्बन्धी सामान्य जाँच गर्न, सिटामोल खान टाढा जानुपर्दा गाउँलेलाई सास्ती भएको थियो’, जग्गादाता अर्यालले भने, ‘गाउँमै स्वास्थ्य केन्द्र स्थापना गर्न सके टाढा जानुपर्ने बाध्यता पनि हट्ने र गाउँमै स्वास्थ्योपचार गर्न पाइए सहज हुने ठानेर निःशुल्क जग्गा प्रदान गरेको हुँ ।’

जग्गा प्राप्त भएसँगै गतवर्ष जेठमा सम्झौता भई भवन निर्माण थालिएको वडा नं ९ का वडाध्यक्ष नामदेव खनालले बताए। ‘यहाँका नागरिक स्वास्थ्यको आधारभूत पहुँचभन्दा बाहिर रहेको महसुस गरी गतवर्ष निर्वाचित भएसँगै पहिलो प्राथमिकतामा राखेर काम थालेका थियौँ’, उनले भने। 

भवन निर्माण सुरु भएको आठ महिनामै सम्पन्न भइ वैशाख १० गतेबाट स्वास्थ्य सेवा दिन सुरु गरेको उहाँको भनाइ छ । चार कोठे पक्की भवन रु ३४ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । भवन निर्माण सकिएकाले अब बाहिरी घेराबारको काम बाँकी रहेकाले त्यसलाई पूरा गर्ने गरी काम अगाडि बढेको वडाध्यक्ष खनालले बताए। स्वास्थ्य सेवा केन्द्रमा अहेब र अनमी एक÷एकजनाको दरबन्दी छ ।