close

आँबुखैरेनीमा जनतासँग स्वास्थ्य कार्यक्रम

आँबुखैरेनीमा जनतासँग स्वास्थ्य कार्यक्रम

Trulli
ADVERTISEMENT

तनहुँ। आँबुखैरेनी गाउँपालिकाले जनतासँग स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको शनिबारदेखि सुरु तेह्रौँ गाउँसभाका अवसरमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष शुक्र चुमानले स्वास्थ्य सेवालाई विशेष प्राथमिकता दिई जनतासँग स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने बताए। 

यो सेवाअन्तर्गत गाउँपालिकाका सबै वडामा रहेका ज्येष्ठ नागरिकलाई महिनाको एक पटक घरमै पुगेर सेवा प्रदान गरिने अध्यक्ष चुमानले बताए। उनले भने, ‘गाउँपालिकाले स्वास्थ्यलाई विशेष जोड दिएर नीति तथा कार्यक्रम बनाएको छ, ज्येष्ठ नागरिकलाई सहजरुपमा सेवा दिन घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा दिने नीति लिएका छौँ ।’

अध्यक्ष चुमानले महिलाको प्रजनन स्वास्थ्य, पाठेघर क्यान्सर परीक्षण कार्यक्रमलाई जोड दिइएको बताए। गाउँपालिकाभित्रका सर्वसाधारणलाई क्यान्सर लागेमा रु ५० हजार आर्थिक सहायता दिने कार्यक्रमलाई आगामी वर्षमा निरन्तरता दिइएको उनले उल्लेख गरे। 

आँबुखैरेनी–१ सत्रसयमा निर्माण गरिने ट्रमा अस्पतालका लागि प्रदेश सरकारसँग सहकार्य गरिने चुमानले बताए। उपचारात्मक स्वास्थ्य सेवालाई विशेष प्राथमिकता दिइएको जनाउँदै उनले आधारभूत स्वास्थ्य सेवा सबैलाई निःशुल्क प्रदान गरिने बताए। आँबुखैरेनी अस्पतालको स्तरोन्नति गरिने बताउँदै अध्यक्ष चुमानले मिर्गौला डायलासिस केन्द्र स्थापना गरिने उल्लेख गरे। 

उनले भने, ‘गोजीमा एक रुपैयाँ नहुँदा पनि उपचारका लागि कहाँ जान्ने भन्ने चिन्ता नलिनुहोला, गाउँपालिकाले स्वास्थ्यको सबै जिम्मा लिन्छ, आँबुखैरेनी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भइसकेको छ, बीमा गराउनुहोला ।’ उनले यही वर्ष अस्पतालमा शल्यक्रिया सेवा सुरु गरिने बताए। ठूला शल्यक्रियाका लागि महिनामा एकपटक विशेषज्ञ चिकित्सक ल्याएर सेवा प्रवाह गर्ने उद्देश्य राखिएको उनले बताए। 

शिक्षातर्फ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी०सँग समन्वय गरी बहुप्राविधिक शिक्षालय सञ्चालन गरिने चुमानले बताए। सबै सामुदायिक विद्यालयमा प्रविधियुक्त शिक्षाको विस्तार गरिने जनाउँदै उनले पञ्चवर्षीय सुधार योजना लागू गरिने उल्लेख गरे।

पर्यटनतर्फ ऐना पहरामा उद्यान निर्माण गर्ने प्रक्रिया अगाडि बढेको र मर्स्याङ्दी जलविद्युत् आयोजनाको बाँधस्थलमा जल पर्यटन सञ्चालन गरिने उनले बताए। समस्तीपुरको अग्लो झोलुङ्गे पुलमा बन्जीजम्प सम्भाव्यता अध्ययन गरिने जनाउँदै अध्यक्ष चुमानले हिलेखर्क र मिलनचौरलाई पर्यटकीय नमुना गाउँको विकासरुपमा विकास गरिने बताए। 

गाउँपालिकाले जमिन बाँझो राख्ने कार्यलाई निरुत्साहित गर्न भूमि बैंक स्थापना गरी खेती गर्न नसक्ने जग्गाधनीको जग्गाको लगत राखी उद्यम प्रयोजनका लागि भाडामा दिने व्यवस्था मिलाइने उल्लेख गरेको छ । गरिब तथा सिमान्तकृत समुदायलाई कृषिमा आधारित एकीकृत उत्पादन कार्यक्रममार्फत आर्थिक क्रियाकलापमा आबद्ध गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने नीति लिइएको अध्यक्ष चुमानले बताए। 

वैदेशिक रोजगारीमा जान चाहने नागरिकका लागि सीप विकास कार्यक्रम सञ्चालन गरिने र वैदेशिक रोजगारबाट फर्किएका नागरिकलाई उनीहरुले आर्जन गरेको अनुभव, सीप र पुँजी लगानी उत्पादन तथा स्वरोजगारीका क्षेत्रमा काम गर्ने प्रोत्साहन गरिने अध्यक्ष चुमानको भनाइ छ । 

दूधमा प्रतिलिटर रु तीन अनुदान दिने व्यवस्थालाई निरन्तरता दिइएको र व्यावसायिक कृषि तथा पशुपक्षी फार्मलाई प्रोत्साहन दिइने नीति अवलम्बन गरिएको उनले बताए। गाउँपालिकाले आज आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने कार्यतालिका छ ।