close

भक्तपुरको नर्सिङ सेवाबाट करिब साढे ५ हजार स्थानीय लाभान्वित

भक्तपुरको नर्सिङ सेवाबाट करिब साढे ५ हजार स्थानीय लाभान्वित

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर नगरपालिकाद्धारा सञ्चालित घरदैलो नर्सिङ र विद्यालय नर्सिङ सेवाबाट करिब साढे ५ हजार स्थानीय लाभान्वित भएका हुन् । नगरपालिकाले सार्वजनिक गरेको तथ्यांकबाट सो सेवाबाट आर्थिक वर्ष २०७९।८० मा १० वटै वडा गरी जम्मा ५ हजार ३८० घरधुरीका ५८ हजार ५९२ लाभान्वित भएका हुन् । 

नगरपालिकाले प्रत्येक वडामा एकजना नर्स र ३ जना स्वास्थ्यकर्मीको टोली जनताको घरघरमा गई नगरबासीहरूको स्वास्थ्यको तथ्यांक संकलन गर्दै आएको छ । घरदैलो नर्सिङ सेवाअन्तर्गत विशेषतः सुगर, श्वासप्रश्वास, उच्च रक्तचाप, क्यान्सर, थाइराइड, मुटु रोग, मृगौला रोग र अन्य नसर्ने रोगहरूको तथ्यांक संकलन गर्दै आएको नगरपालिकाले जनाएको छ । 

 यसबाहेक घरदैलो नर्सिङ सेवाअन्तर्गत ड्रेसिङ, औषधी सेवन, रोग र स्वास्थ्यबारे परामर्श, प्रेसर जाँच, विभिन्न रोगहरूबारे अभिमुखीकरण, रोग संक्रमण रोकथामका उपाय, विद्यालय विद्यालयमा र टोल टोलमा गएर विद्यार्थीहरू र सर्वसाधारण जनतालाई स्वास्थ्यबारे अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन हुँदै आएको छ । यसबाहेक भक्तपुर नपाअन्तर्गत विद्यालय नर्सिङ सेवा पनि सञ्चालन हुँदै छ । भक्तपुरको ख्वप मावि, बासु मावि, पद्म मावि, बागीश्वरी मावि र आदर्श आजाद माविमा यो सेवा सञ्चालनमा छ ।

२०७४ साल भदौ ९ गतेबाट भक्तपुर नपाले घरदैलो नर्सिङ सेवा सञ्चालनमा ल्याएको हो । भक्तपुर नपाले सुरु गरेको घरदैलो नर्सिङ सेवाबाट विशेषत गर्भवती महिला, बालबालिका र ज्येष्ठ नागरिकहरू लाभान्वित भएका छन् । भक्तपुर नपाले नगरका १० वटै वडाहरूमा घरदैलो नर्सिङ सेवा सञ्चालन गर्दै आइरहेको छ । नेपालमै पहिलो पटक भक्तपुर नगरपालिकाले घरदैलो नर्सिङ सेवा सुरु गरेको हो ।