close

गाउँबस्तीमा नासिँदै मौलिक घर

भूकम्पमैत्री भनिएका घरहरू हलो मासेर मुंग्री बनाएजस्ता

गाउँबस्तीमा नासिँदै मौलिक घर

भूकम्पमैत्री भनिएका घरहरू हलो मासेर मुंग्री बनाएजस्ता

Trulli
ADVERTISEMENT

धादिङ– ५ वर्षअघिसम्म  धादिङका अधिकांश गाउँबस्तीमा मौलिक परम्परा बोकेका घरहरू देख्न आँखा डुलाउनु पर्दैनथ्यो । अहिले त्यो मौलिकता हराएर गाउँबस्तीका घरहरू एकादेशको कथा बनेका छन् ।

 

१२ वैशाख २०७२ मध्याह्नसम्म जिल्लाका अधिकांश घर मौलिक परम्पराका थिए । ती घर घरधनीले आप्mनै बनिबुतोमा ठड्याएका थिए ।

 

अधिकांश घर २ तले थिए भने केही १ तले र अपवादको रुपमा कहीं–कतै ३ तले घर पनि थिए । ढुंगा र माटोको गाह्रोले बनेका धेरैजसो घरको छानोमा स्थानीय स्तरमै पाइने स्लेट ढुंगा काटेर छानो हालिएका हुन्थे ।

 

धेरैजसो घरमा बार्दली पनि निकालिएको हुन्थ्यो ।  बार्दलीसहितका ती घरले मौलिक परम्परा बोकेका मात्रै थिएनन्,   किसानमैत्री पनि थिए । किसानले बर्खे अन्नपात राख्न र परिवारका सदस्यहरू बस्न पुग्ने गरी बनाइएका ती घरको अहिले नामोनिशान छैन  ।


गाउँघरमा टाढाबाट कामविशेषले आएका पाहुना बसाउन पनि सजिला थिए, पुराना शैलीका घरहरू । भूकम्पले धादिङका ८१ हजार ३  सय १३ घर मात्रै ढालेन, नेपाली मौलिक परम्परालाई पनि ढालिदियो । पहिलेका ठूला, फराकिला घर ढलेपछि १ तलेमा सीमित हुन पुगेका छन् ।

 

भत्किएका घर बनाउन सरकारले सहयोग गरे पनि मौलिक परम्परा बोकेका पुराना शैलीको घर बनाउन पाएनन् ।  घर बनाउन अनुदान लिनुपर्ने भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तय गरेको नक्साअनुसारको घर बनाउनुपर्ने बाध्यता गाउँबासीा परेको गजुरी गाउँपालिका वडा–८ का राजेन्द्रकुमार बस्नेत बताउँछन्  ।

 

‘ढुंगा–माटोले बनाइएका चिटिक्क परेका घरहरू भूकम्पमा परेर भग्नावशेषमा परिणत भएपछि त्यसको पुनर्निर्माणका क्रममा सिमेन्ट लगाएर बनाइएको छ । घरमा सिमेन्टसँगै छानोमा जस्तापाता राखिएका छन् । अधिकांश घर तला नभएका र सिमेन्ट लगाएका कारण मौलिक परम्परा बिलायो’, बस्नेत दुःखी सुनिन्छन् ।

 

अहिले बनाइएका घरमा गर्मी समय बढी गर्मी र चिसोका बेला बढी चिसो हुने गरेको गाउँबासी बताउँछन् । परम्परागत शैलीका घरमा बास बस्न मात्रै होइन, अन्नपात भण्डारण गर्नसमेत सहज  हुने गथ्र्यो ।

 

किसानले वर्षभरिलाई पुग्ने अन्न राख्नुपर्ने, मौसमअनुसारका बिउबिजन राख्नुपर्ने बाध्यता रहे पनि अहिले बनेका घरमा बढीमा ३  कोठा मात्र छन् । यसले गर्दा अन्नपात राख्न समस्या हुने गरेको गल्छी गाउँपालिका वडा–६ का शिवप्रसाद अधिकारी बताउँछन् ।  

 

‘भूकम्पमैत्री भनिएका घरहरू हलो मासेर मुंग्रो बनाएजस्तो भएको किसानको गुनासो छ । पुराना घरहरू मासिएसँगै नयाँ बनेका घरहरू कामकाजी हुन नसकेको स्थानीयको गुनासो छ ।


‘पुनर्निर्माण प्राधिकरणले भूगोलको  अध्ययन नगरी सबैका लागि एउटै मापदण्ड बनाएर घरको नक्सा दिएका कारण अहिलेका घरहरू किसानमैत्री हुन नसकेका हुन्,’ नेत्रावती डवजोङ गाउँपालिकाका श्याम लामा भन्छन् । यस्ता घरलाई कसैले खोस्टा पराल, घाँस–दाँउरा राखेका छन् भने कसैले भान्छाकोठा बनाएको लामा बताउँछन् ।


‘राज्यले ३  लाख र प्रविधिक सहयोग दिएर आफूअनुकूल वा मौलिक परम्पराका घरहरू बनाउन दिएको भए पुनर्निर्माण जनतामैत्री हुन्थ्यो’, ज्वालामुखी गाउँपालिका ५ नम्बर वडाध्यक्ष कृष्णप्रसाद काप्री भन्छन्  ।


२०७२ को भूम्पबाट क्षति भएमध्ये धादिङमा लाभग्राही कायम भएकाहरूको संख्या ८४ हजार ७ सय ६२ रहेको छ । पाँच वर्षको अवधिसम्म ८१ हजार ५० जनाले पुनर्निर्माण गर्न सम्झौता गरिसकेकामध्ये पुनर्निर्माण गर्न पाउने ७६ हजार ६ सय १० र प्रबलीकरण गर्ने ३ हजार ७ सय १० रहेका छन् ।


भदौ मसान्तसम्म ८० हजार ३ सय २० जनाले पहिलो किस्ता लिइसकेका छन् भने ७१ हजार ३ सय ९९ जनाले दोस्रो किस्ता र ६४ हजार ७ सय २६ जनाले तेस्रो किस्ता रकम लिइसकेको अनुदान व्यवस्था तथा स्थानीय पूर्वाधार कार्यालय धादिङका इन्जिनियर दीपेन्द्र पौडेलले जानकारी दिए ।


भूकम्प गएको ५ वर्षमा अहिलेसम्म धादिङमा ५३ हजार ३ सय २० घर निर्माण भइसकेका छन् भने १८ हजार ७ सय २६ घर निर्माणाधीन अवस्थामा रहेको छ । पुनर्निर्माण र प्रबलीकरण गर्न पाउनेमध्ये ३ हजार ६ सय ८२  जिल्ला कार्यान्वयन इकाइको सम्पर्कमा नआएको इन्जिनियर पौडेलले बताए ।


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले घरको डिजाइन दिए पनि स्थानीयले परम्परागत ढंगका घर नबनाएको इन्जिनियर पौडेलको दाबी छ । ‘प्राधिकरणले ढुंगा–माटो, ढुंगा, सिमेन्ट, इँटा–माटो र इँटा– सिमेन्ट प्रयोग गरेर पुरानो डिजाइनका घर निर्माण गर्न सकिने विभिन्न प्रकारका डिजाइन सिफारिस गरेको थियो । तर, स्थानीयले नै जस्तापाता प्रयोगलाई प्राथमिकता दिएनन्’,  पौडेल भन्छन् ।


पुराना शैलीका घर नबन्नुमा स्थानीय पनि जिम्मेवार रहेको उनको बुझाइ छ ।


‘भूकम्पपछि गाउँबस्तीको मौलिकता हरायो । पुराना घरहरू देखिन छाडे । पहिले मिलेर बसेको बस्ती अहिले छरियो । घरका छानामा ढुंगा, खर देखिन छाडेको इतिहास र संस्कृतिको अनुसन्धानमा सक्रिय दार्खाका गोपाल प्mयुवा बताउँछन् ।


‘रंगीचंगी जस्तापाताले घर सजिएका छन् । हिजोको मौलिकता हराउँदा अबको पुस्ताले हाम्रो परम्परागत शैलीबारे केही थाहा नपाउने हुन् कि भन्ने चिन्ता छ,’ प्mयुवा भन्छन् ।

 

धादिङ र गोरखाको सीमामा पर्ने राष्ट्रिय गौरवको आयोजना बूढीगण्डकी जलविद्युत् निर्माणको चर्चाले पनि पुनर्निर्माणमा केही प्रभाव पारेको स्थानीय बताउँछन्् ।

 

बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावित क्षेत्रका लाभग्राहीको संख्या १ हजार १ सय ३९ घर रहेको छ । यस्तै, जोखिम वर्गका लाभग्राहीको संख्या १ हजार ८ सय २९, भूमिहीन लाभग्राहीको संख्या १ सय २३ र जोखिम बस्तीका लाभग्राही ४ सय १७ रहेको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ ।


जिल्लाका धेरै ठाउँका भूकम्पपिडितले अझै पनि लाभग्राही कायम हुन नसकेको समस्या सुनाउँछन् । वास्तविक भूकम्पपीडितलाई लाभग्राहीभित्र समेटिन अहिले पनि मुस्किल छ ।  तर, टाठाबाठा राज्यको सेवा–सुविधामा रमाइरहेका छन् ।


भूकम्पपछिको पुनर्निर्माणको क्रममा लाभग्राही कायम भएका जिल्लाका अधिकांश भूकम्पपीडितले घर  बनाइसकेका छन् । केही भने अझै पुरानै घरमा बसिरहेका छन् ।


कतिपयले बनाएका २ कोठे घरमा जीविका नचल्ने भएपछि भूकम्पले भत्याएको पुरानै घर टालटुल बनाएर काम चलाउँदै आएका स्थानीय पूर्वाधार कार्यालयका दीपेन्द्र पौडेलले जानकारी दिए ।

 

‘केही ठाउँमा अनुदान लिनकै लागि घर बनाएजस्तो पनि देखिएको छ । विशेषगरी एक कोठे  घर बनाएको, घर बनाएर पनि अर्कै काममा प्रयोग गरिएको, घाँसदाउरा, बाख्रा, गाईभंैसी पाल्ने काममा प्रयोग भएको पाइएको छ,’ पौडेलले भने ।

 

भूकम्पपछि लाभग्राही कायम हुन नसकेका प्रभावितले धमाधम लाभग्राही कायम हुन पाऊँ भन्दै पुनरावेदन गर्न थालेको पौडेल सुनाउँछन् ।

 

पुनर्निर्माण प्राधिकरणले पुनरावेदनको समयसीमा असोज मसान्तसम्म गैरलाभग्राही भएको जानकारी पत्र बुझाइसक्ने र त्यसको ३५ दिनभित्र पुनरावेदन गर्न सक्ने समय तोकेको छ ।  अहिले जिल्लास्थित कार्यालयमा भूकम्पपीडितको पुनरावेदन गर्न भीड नै लागेको छ ।