close

झापाबाट गुडेको गाडी अब सिधै लुक्ला

झापाबाट गुडेको गाडी अब सिधै लुक्ला

Trulli
ADVERTISEMENT

ओखलढुंगा- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खुम्बूमा विकासको आधार तय भएको बताएका छन् । माप्य-खुम्बू मितेरी पुल, थुलुङ दूधकोसी बहुप्राविधिक शिक्षालयको उद्घाटन तथा विभिन्न विकासका आयोजनाको अनुगमनमा सोलुखुम्बू पुगेका राईले खुम्बू पासाङह्लामु गाउँपालिकामा विकास र समृद्धिको आधार तय भएको दाबी गरेका हुन् । 
 

शुक्रबारदेखि मुख्यमन्त्री राई ओखलढुंगा र सोलुखुम्बूका विभिन्न कार्यक्रममा सहभागी छन् । दुई दिनदेखि भने उनी सोलुखुम्बूका विभिन्न कार्यक्रममा व्यस्त छन् । उनले शनिबार सोलुखुम्बूको माप्य-खुम्बु मितेरी पुल उद्घाटन तथा सम्बोधन गरे भने आइतबार थुलुङ दूधकोसी बहुप्राविधिक शिक्षालयको उद्घाटन गरे । उनले यो शिक्षालय शैक्षिक हब बन्न सक्ने नमुना रहेको बताए । 
 

हिमाली जिल्लाको विकासबारे धारणा राखेका मुख्यमन्त्री राईले सिधा सडक संजालले जोड्न नसक्दा विकासमा पछाडि परेको खुम्बूमा पुल निर्माणसँगै विकासले तीब्रता पाउने बताए । कोरोना भाइरसको महामारीका बीचमा नै पुल निर्माण सम्पन्न भएको र इच्छाशक्ति हुँदा कुनै कुराले छेक्न नसक्ने उदाहरण प्रस्तुत गरेको भन्दै धन्यवाद ज्ञापन गरे ।  
 

मुख्यमन्त्रीसँगै सोलुखुम्बू पुगेका प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङबोले विश्वमाझ परिचित सगरमाथा क्षेत्रलाई सिधा सडक संजालले जोड्नु खुसीको कुरा भएको बताए । उनले सगरमाथा आधार शिविरसम्म मोटर बाटो पुर्‍याउन सकिए सर्वोच्च शिखरलाई सर्वसाधारण नगरिकले समेत नजिकबाट नियाल्न सक्ने बताए । 
 

यस्तै, सोलुखुम्बूका संघीय सांसद हेमकुमार राई ‘शूरवीर’ले मितेरी पुल खुम्बू पासाङ ह्लामु गाउँपालिका र माप्य दूधकोसी गाउँपालिकाको मात्र नभई देशकै गहना भएको दाबी गरे । नेकपा प्रदेश १ का संसदीय दलका प्रमुख सचेतक एवं प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले विकासविरोधीहरूको योजना आफूहरूले विफल बनाएको दाबी गरे । 
 

प्रदेशसभा सदस्य उत्तमकुमार बस्नेतले मितेरी पुलले हिमाल र  तराईका नागरिकलाई एक बनाएको बताए । यो पुल बनेपछि खुम्बू क्षेत्र सडक संजालमा जोडिएको छ । झापादेखि लुक्लासम्म गाडीमार्फत पर्यटक आउन सक्ने थुलुङ दूधकोसी गाउँपालिका अध्यक्ष असीम राईले बताए ।
 

सात करोड २९ लाख ९७ हजार २०० रुपैयाँको लागतमा निर्माण गरिएको पुलको निर्माण कार्य गत वैशाखमा सकिएको थियो । जलप निर्माण कम्पनीले निर्माण गरेको पुलका लागि संघीय संसद कोषको एक करोड, प्रदेश १ सरकारको दुई करोड रुपैयाँ र बाँकी रकम खुम्बू पासाङह्लामु र माप्य दूधकोशी गाउँपालिकाले व्यवस्थापन गरेका थिए ।