close

बझाङका सबै गाउँलाई जोड्ने पानकोट पुल चैतभित्र बनिसक्ने (भिडियाे खबर)

बझाङका सबै गाउँलाई जोड्ने पानकोट पुल चैतभित्र बनिसक्ने (भिडियाे खबर)

ADVERTISEMENT

बझाङ- बझाङ सदरमुकाम चैनपुर र गोलाई जोड्ने पानकोट पुल निर्माणले पूर्णता पाउने भएको छ । साविकका ८ वटा गाविस जोड्ने स्टिल पुलको निर्माण रोकिएपछि स्थानीयमा पुल नबन्ने हो कि भन्ने लामो समयदेखिको चिन्ता हट्न लागेको हो ।

 

झन्डै ८ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको ६९ मिटर लम्बाईको पानकोट पुल आगामी चैतसम्म सक्ने लक्ष्य छ । सदरमुकाम चैनपुर र गोलाई जोड्ने पानकोट पुल निर्माणको जिम्मा इलाइट कन्स्ट्रक्सनले पाएको छ ।

 

२०७५ चैतमा सम्झौता गरी २०७७ साल वैशाखमा सम्पन्न गर्ने गरी सम्झौता गरिए पनि कोरोना महामारीका कारण तोकिएको समय वैशाखमा निर्माण सम्पन्न हुन नसकेको जयपृथ्वी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र खड्काले बताए । निर्माण कम्पनीले चैतभित्र पुल सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले जानकारी दिए ।


सदरमुकाम चैनपुरस्थित पानकोट सेती नदीमा अहिले क्रस मोटरेबल पुल निर्माणाधीन अवस्थामा छ । यो पुल बनेपछि बझाङको सेतीपारिका जयपृथ्वी नगरपालिका, मष्टा, खप्तडछान्ना, थलारा, तल्कोट र साइपाल गाउँपालिकाबासीले यातायातको सुविधा पाउनेछन् ।

 

झज्डै ८ करोड रुपैयाँको ठेक्का सम्झौता भएको पानकोट पुल फलाम र स्टिलबाट बनिरहेको निर्माणको जिम्मा लिएको इलाइट कन्स्ट्रक्सनका प्रतिनिधि कपिल राईले जानकारी दिए ।

 

पुल निर्माणका आवश्यक सामग्री निर्माण स्थलमा आइपुगेको उनले बताए । सामान बाहिरबाटै बनेर आएकाले पुलको नटबोल्ट कस्न अब २ महिना लाग्नेछ । तर, अझै केही अड्चन भने बाँकी छ ।

 

यसअघि विभिन्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएपनि बीचको पिल्लरका लागि खाल्डो खन्दा ढुंगा लागेको भन्दै काम रोकिएको थियो । गत चैतमा इलाइट कन्स्ट्रक्सन प्रालिसँग झन्डै ८ करोडमा ठेक्का सम्झौता भएपछि क्रस ब्रिज बनाउने सहमति भएको थियो । 

 

सेती नदीपारिका स्थानीय तहलाई जोड्ने गरी असार मसान्त २०७३ मा निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको पक्की पुल ४ वर्षपछि बल्ल बन्ने आशा पलाएको स्थानीय तिलक खड्का र चेतराज बराल सुनाउँछन् ।


यो पुल बनेमा सेती नदीमा बनिरहेको पुलमध्ये पहिलो हुनेछ । सेती नदीमा पक्की पुल नहुँदा यातायातका साधन पारितिर जान सकेका छैनन् । हिउँदमा सेती नदीमा पानी घटेपछि केही महिनाका लागि काठेपुल राखेर यातायातका साधनहरूले ओहोरदोहोर गरे पनि जेठ महिनामा काठे पुल बगाएपछि यातायातका बन्द रहने गरेका छन् ।