close

विवादको चंगुलले धनुषाका ३ करोडका आयोजना रद्द हुने अवस्थामा (भिडियाे खबर)

विवादको चंगुलले धनुषाका ३ करोडका आयोजना रद्द हुने अवस्थामा (भिडियाे खबर)

ADVERTISEMENT

महोत्तरी- विकास नै भएन भन्दै परिवर्तनको अपेक्षा राख्नु स्वाभाविक हो । विकटताका कारण अनेकौँ अप्ठ्यारा झेलिरहेका सर्वसाधारणले थोरै भए पनि अनुकूल हुने गरी विकास भइदिए दुःखबाट मुक्ति पाइने परिकल्पना गरेका नै हुन्छन् । चाहे त्यो भौतिक पूर्वाधारको होस् वा सामाजिक, सांस्कृतिक विकास नै किन नहोस् । 


तर, धनुषाको मिथिला नगरपालिकामा भने यसको ठीकविपरीत भएको छ । पक्की सडक निर्माणका लागि करिव ३ करोड रुपैयाँको आयोजनाको काम अगाडि बढिरहेका बेला सर्वसाधारणकै अवरोधका कारण उक्त आयोजना अलपत्र बनेको छ ।


संघीय सरकारबाट ३ करोड रुपैयाँको आयोजना रहेको निर्मिाणाधीन धनुषाको मिथिला नगरपालिका वडा नम्बर-२ को बाराकोटीदेखि तुलसी बजार जोड्ने पक्की सडकको विषयमा स्थानीयबीच नै विवाद भएपछि आयोजना नै रद्द हुने स्थिति सिर्जना भएको छ ।

 

टेण्डर प्रणालीबाट ठेक्का पाएको ठेकेदार कम्पनी रोशन कन्स्ट्रक्सनको विषयलाई लिएर स्थानीय नै पक्ष र विपक्षमा विभाजन भएपछि पक्की सडक निर्माण अलपत्र बनेको हो । 


एकथरी स्थानीयले केही व्यक्तिको मिलोमतोमा ठेकेदार कम्पनीले  स्थानीय स्रोत साधन अनधिकृत रूपमा जथाभावी उपभोग गरेर पर्यावरणलाई नै ध्वस्त बनाउन लागेको आरोप लगाएका छन् भने अर्कोथरी स्थानीयले विकासमा राजनीति मिसाई असफल बनाउने ढंगबाट केही समूह गम्भीर रूपमा परिचालन भएको दाबी गरेका छन् ।


यता, ठेकेदार कम्पनीले भने कामलाई निरन्तरता दिन स्थानीय स्रोत साधनको उत्खनन गरेबापत तुलसीको श्री माध्यमिक विद्यालयलाई ५ लाख रुपैयाँ सहयोग गर्न स्थानीयले नै माग राखेपछि ठेकेदार कम्पनी पछाडि हटेको व्यस्थापन समितिका अध्यक्ष माननाथ घिमिरेको भनाइ छ ।


अर्को पक्ष भने ठेकेदार कम्पनीले इमान्दारीपूर्वक काम अगाडि बढाइरहेका बेला अनावश्यक आरोप लगाएर आयोजनालाई नै विफल बनाउन केही राजनीतिक दलका व्यक्ति योजनाबद्ध ढंगले लागिपरेको निर्माण कम्पनीको गुनासो छ । 


केही टाठाबाठाको झगडाले सर्वसाधारण भने मारमा परेका छन् । सडक कालोपत्रे भएपछि धुवाँ र धुलोबाट मुक्ति पाउने सपना देखेका सर्वसाधारण भने नेताको किचलोका कारण समस्या सिर्जना भएको बताउँछन् ।

 

कम्पनीले पर्खाल लगाउने क्रममा सरकारी स्टिमेटअनुसार नगरेको, जथाभावी गिट्टी, बालुवा, ग्राभेल उत्खनन गरेको, केही व्यक्तिको मिलेमतोमा बाहिरसमेत बेच्न लगेको, होर्डिङ बोर्ड नलगाई काम गरेको भन्दै वार्तामा नआएसम्म काम अघि नबढ्ने भनेर स्थानीयले नै काम रोकेर राखेका छन् । 


जनप्रतिनिधिले पनि ठेकेदार कम्पनीमा देखिएको बदमासीले काम रोक्नुपरेको स्वीकार गरेका छन् ।

 

यदि पक्की सडकको काम समयमा नै सम्पन्न भए मिथिला नगरपालिका वडा नम्बर- २ र ३ का करिव १० हजार सर्वसाधारण लाभान्वित हुनेछन् भने कच्ची सडकको कारण उड्ने धुलो, धुवाँबाट समेत मुक्ति पाउनेछन् ।