close

सैनामैनामा बन्दै बसपार्क र बहुतले व्यावसायिक भवन

सैनामैनामा बन्दै बसपार्क र बहुतले व्यावसायिक भवन

Trulli
ADVERTISEMENT

रूपन्देही(सैनामैना)- रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १० स्थित सालझन्डीमा बहुतले व्यावसायिक भवन तथा बसपार्क निर्माण सुरु भएको छ । भवनको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले शिलान्यास गरे । 

 

नगरप्रमुख कार्कीले समृद्ध नगर बनाउन विकासले भूमिका निर्वाह गर्ने उल्लेख गर्दै बसपार्कले आम्दानीको स्रोत बढाउने र नागरिकलाई यातायातको सेवासँग जोड्ने बताए । 

 

उनले स्थानीय सरकार निर्माणपछि विगतको तुलनामा विकासले फड्को मारेको दाबी गर्दै स्थानीय सरकारको अभ्यास सुशासन र विकासमा एकै पटक भएको जिकिर गरे । 

 

‘सैनामैनाका हरेक वडामा सन्तुलित विकास गर्दै आएका छौँ । सालझन्डी-ढोरपाटन सडक राष्ट्रिय गौरवको योजना भएको र यसैसँग जोडिएर बन्न लागेको बसपार्क र व्यावसायिक भवनले नगरमा पर्याप्त रोजगारी एवं आर्यआर्जनको अवसर सिर्जना हुनेछ’, कार्कीले भने । 

 

बसपार्कमा निर्माण हुने व्यावसायिक भवनमा निजी क्षेत्रको लागत सहभागितासमेत रहनेछ । पूर्व-पश्चिम लोकमार्ग भएर यात्रा गर्नेलाई एकैछिन भए पनि सैनामैनामा आराम गर्ने र यहाँ उत्पादित अर्गानिक खाजा खुवाएर पठाउने गरी बसपार्क, रिफ्रेस सेन्टरलगायत पूर्वाधार निर्माण हुँदै गरेको उपप्रमुख बिना रानाले बताइन् ।

 

सालझन्डी नजिकै केही महिनादेखि प्रदेश सरकारको लगानीमा रिफ्रेस सेन्टरसमेत निर्माणाधीन अवस्थामा छ । 

 

४ करोड ६३ लाख ३८ हजार ६७० रुपैयाँ लागतमा निर्माण हुन लागेको व्यावसायिक भवनमा ४६ सुविधासम्पन्न सटरसहित २ शौचालय, चौपारी, टिकट काउन्टर, कार तथा बस पार्किङ, खुला क्षेत्रसमेत निर्माण हुने सैनामैनाका योजना प्रमुख सुरज न्यौपानेले जानकारी दिए । 

 

करिब १ बिघा ७ कठ्ठा १२ धुर क्षेत्रफलमा निर्माण हुन लागेको भवनको १ वर्षमा निर्माण सक्ने लक्ष्य रहेको घिसिङ श्रीखण्डपुर बिआईएम जेभी धुलिखेलका सञ्चालक सुजन गौतमले बताए । 

 

नगरको यस प्रकारको योजनाले सैनामैनामा समृद्धि र विकास आएको स्थानीय सागर खरेल बताउँछन् । बसपार्क ८४ बस अट्ने क्षमताको हुनेछ । 

 

पूर्व-पश्चिम लोकमार्गमा बन्ने सो बसपार्कबाट दक्षिणको नेपाल र भारतको सीमावर्ती क्षेत्र कक्रहवालाई जोडेर उत्तरतर्फको ढोरपाटन आउजाउको व्यवस्था गरिन लागेको हो ।

 

कार्यक्रममा सैनामैना वडा नम्बर १० का वडाध्यक्ष लोकनारायण थापा, सैनामैनाका कार्यपालिका सदस्य कल्पना कुँवरलगायतले व्यावसायिक भवनबारे बोलेका थिए ।