कैलाली– कैलालीको चुरे गाउँपालिका ५ नम्बर वडा कार्यालयको प्रशासनिक भवन निर्माण गरिएको छ । प्रशासनिक भवन निर्माणपछि वडा कार्यालयले आफ्नै भवनबाट सेवा सुरु गरेको छ ।
वडा कार्यालयको भवन नहुँदा लामो समयदेखि भाडाको घरबाट सेवा दिँदै आएकामा आएकामा अहिले आफ्नै भवन निर्माणपछि सेवा प्रवाह सहज भएको वडाध्यक्ष नरबहादुर तामाङले बताए ।
६७ लाख रुपैयाँ लागतमा वडा कार्यालयको भवन निर्माण सम्पन्न भएको हो । ७ वटा वडा रहेको चुरे मा पालिकाको प्रशासनिक भवन निर्माणसँगै ५ वटा वडा कार्यालयका प्रशासनिक भवन निर्माण भई सञ्चालनमा आएको पालिका उपाध्यक्ष दीपादेवी साउदले बताइन् ।
चुरे गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालय चालू आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य छ । भौगोलिक विकटताका कारण पछाडि परेको चुरे गाउँपालिकाले पछिल्लो पटक भौतिक पूर्वाधारलगायत विकास निर्माणमा प्राथमिकता दिँदै आएको पालिका अध्यक्ष धनबहादुर रोकामगरले जानकारी दिए ।
चुरे गाउँपालिकाका ६ वटै वडा सडक सञ्जालसँग जोडिएका छन् । सडक सञ्जालसँग सबै वडा जोएिपछि त्यहाँ उत्पादित कृषिजन्य वस्तुले बजार पाउन थालेको स्थानीय बताउँछन् ।