दाङ– दाङको घोराही–तुलसीपुर सडक खण्ड चार लेन निर्माण सुरु भएको छ । लामो समयदेखि ठप्प रहेको चार लेन निर्माण शनिबारदेखि सुरु भएको हो ।
निर्माणको म्याद १७ महिना रहेकाले समयभित्रै सक्ने गरी काम अघि बढाएको निर्माण व्यवसायी सुनील खत्रीले बताए । ‘हामीसँग अब १७ महिनाको म्याद छ’, उनले भने, ‘त्यो बीचमा काम सक्ने गरी अघि बढेका छौँ ।’
अहिले चार प्याकेजमा काम अघि बढिरहेको खत्रीको भनाइ छ । गत वर्षमा निर्माण अधुरो हुँदा धेरै दुर्घटना भए । खाल्डाखुल्डीका कारण यात्रुलाई असहज हुँदै आएको छ । निर्माण जिम्मा भारतीय तथ्य इन्जिनिरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालिले पाएको थियो ।
घोराही–तुलसीपुर जोड्ने सडक चार लेन बनाउन सुरु भएको चार वर्ष भयो । विस्तारको नाममा सडकको दुवैतिर खनेर सडक अग्लो र होचो पारिएको छ । संघीय सरकारले भारतीय एक्जिम बैंकको सहयोगमा लमही–तुलसीपुर सडकलाई चार लेन बनाउने गरी आयोजना कार्यालय स्थापना गरी पहिलो चरणमा घोराहीको बबई नदीदेखि तुलसीपुरसम्मको सडक विस्तार सुरु गरिएको थियो ।
पहिलो चरणमा घोराहीको बबई नदीदेखि तुलसीपुरसम्मको २८.१९ किलोमिटर सडक विस्तार हुन लागेको हो । त्यसमध्ये पनि १४.४ किलोमिटर मात्रै चार लेनको हुने र बाँकी करिब १४ किलोमिटर दुई लेनको हुने जानकारी गराइएको थियो ।
जिल्लामा सवारीको चाप बढे पनि सडकको क्षेत्र पुरानै भएकाले दुर्घटना बढ्दै गएको तथा प्रदेश सरकारले घोराही र तुलसीपुरलाई मिलाएर महानगरपालिका बनाउने योजना बनाइरहेका बेला दुई उपमहानगर जोड्ने सडक चार लेनको बनाइनुलाई स्थानीयले महत्त्वपूर्ण कार्य मानेका छन् ।
सडक विस्तारको काम भने स्थानअनुसार कतै दुई लेन, कतै चार लेनको हुने भारतीय निर्माण कम्पनी तथ्य इञ्जिनियरिङ इन्फ्राप्रोजेक्टका कन्सल्टेन्ट इञ्जिनियर ईश्वरीप्रसाद अम्गाईले बताए ।
सन २०१९ फेब्रअरीमा नेपाल सरकारसँग ठेक्का सम्झौता भई काम सुरु गरेको भारतीय निर्माण कम्पनीले ३० महिनाभित्र अर्थात् सन् २०२१ अगस्तभित्र सडक विस्तारको सबै काम सक्नुपर्ने थियो ।
अहिले तुलसीपुरको हात्तीखौवादेखि घोराहीको कपासी बगियासम्मको सडक क्षेत्रमा काम अलपत्र परेको छ । सयौँ खाल्डाखुल्डीका कारण आधा घन्टाको यात्रा दुई घन्टा लाग्ने भएको छ ।
भारतीय एक्जिम बैंकको सहयोगमा १ करोड २१ लख ८२ हजार डलर अर्थात् २ अर्ब २ करोड रुपैयाँ लागतमा फोर लेन सडकको काम सम्पन्न हुनेमा मात्र सीमित भएको छ ।
मानवीय अतिक्रमणमा नपरेको तथा बिजुली, टेलिफोनका तार र रुख हटाउने प्रक्रिया टुंगिइसकेकाले सडक विस्तारको काम निर्धारित समयमै सकिने दाङबासीको आशा थियो । तर, सडक भताभुंग पारेको चार वर्षसम्म पनि बन्न नसक्दा सबैलाई सास्ती भएको छ ।
दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार २०२१ अगस्तमा काम सक्ने सम्झौता थियो । तर, समयमा काम सकिने अवस्था भएन ।
त्यसपछि कोरोनाको कारण देखाउँदै १०३ दिन र विद्युत्का पोल, रुख हटाउन ढिला भएको भन्दै १४५ दिन म्याद थप गरिएको थियो । अब २०२२ जुन १९ मा काम सक्नुपर्ने भए पनि प्रगति न्यून छ ।
२०७६ मंसिरदेखि सुरु भएको कामको अहिलेसम्मको प्रगति ६ प्रतिशत मात्रै रहेको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्ले बताए । अहिले समयमै काम सक्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन् । सोहीअनुसार काम अगाडि बढेको छ । घोराही–तुलसीपुर सडक चार लेनको काम कुहिरेपानीदेखि मात्रै सुरु हुनेछ ।
घोराहीको कटुवा खोलादेखि डिके पेट्रोपम्पसम्म यसअघि नै चार लेन छ । त्यसैले त्योबाहेक डिके पेट्रोलपम्पदेखि सर्रा चोकसम्म, नारायणपुरको झारवैरा चोकदेखि खैरा चोकसम्म र दूधराक्षदेखि तुलसीपुरको हात्तीखौवा चोकसम्म मात्रै चार लेन हुनेछ ।