close

पोखरा–काठमाडौंको सडक यात्रालाई २ घन्टाको बनाइँदै 

पोखरा–काठमाडौंको सडक यात्रालाई २ घन्टाको बनाइँदै 

Trulli
ADVERTISEMENT

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले पोखरा–काठमाडौंं सडक यात्रालाई २ घन्टामा छोट्याउने योजना रहेको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले कास्कीको पोखरामा आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यसका लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिए ।


‘पोखरा–काठमाडौंलाई २ घन्टामा कसरी जोड्न सकिन्छ, यस विषयमा छलफल सुरु भएको छ । सुरुङ मार्ग बनाएर हुन्छ या वैकल्पिक मार्ग बनाएर हुन्छ, छलफल चलिरहेको छ,’ उनले भने, ‘पोखरा–काठमाडौं सडक मार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाएर यात्रा छोट्याउने सरकारको योजना छ ।’


मन्त्री शर्माले सरकारले सडक नक्सांकन कार्यक्रम ल्याएको बताए । अन्तर्राष्ट्रिय स्तरका सडक बनाउन नक्सांकन गर्ने योजना ल्याइएको उनको भनाइ छ । संघले गर्नुपर्ने, प्रदेशले गर्नुपर्ने र स्थानीय सरकारले बनाउनुपर्ने सडकको नक्सांकन गर्न लागिएको उनले जानकारी दिए ।  पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने गरी काम अघि बढाइने उनले प्रतिबद्धता जनाए । सार्वजनिक खरिद ऐन संशोधनको तयारी भइरहेको उनको भनाइ छ ।


पोखराको भौतिक पूर्वाधार विकासको आवश्यकता, चक्रपथ निर्माणलगायतको विषयमा संघीय सरकार सकारात्मक रहेको उनले अर्थमन्त्री शर्माले सुनाए । ‘नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मेरो लक्ष्य हो । यतिबेला २ हजार मेगावाट मात्र विद्युत् हुँदा पनि ५ सय मेगावाट खेर जाने चिन्ता छ । जबकि १० हजार मेगावाट विद्युत् नेपालमै खर्च गर्ने योजना चाहिन्छ । सरकारले प्रतिस्थापन विधेयकमार्फत स्वदेशमै विद्युत खपत गर्ने उद्योग स्थापना गर्ने गरी नीति ल्याएको छ’, अर्थमन्त्री शर्माले भने । 


नेपालमा फलाम उद्योग १५–१८ वटा चल्न सक्ने अवस्था रहेको र धौभाडीलगायत स्थानका फलाम खानी सञ्चालनमा ल्याइने उनले जानकारी दिए । कृषिलगायत क्षेत्रमा प्रवाह भएको सहुलियत ऋण दुरुपयोग नहोस भनेर छलफल थालिएको अर्थमन्त्री शर्माले बताए ।

 

वैदेशिक लगानी भित्र्याउन केही नयाँ नीतिगत व्यवस्था गर्न थालिएको र गैरआवासीय नेपालीले नेपालका बैंकमा पैसा राख्न पाउने कानुन ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।  ‘निजी क्षेत्र बाँचेन भने सरकार पनि राम्रोसँग चल्न सक्दैन । उद्योग, व्यापार, व्यवसाय राम्रोसँग नचले राजस्व संकलन हुँदैन । यो कुरा सरकारले बुझेको छ । यसका लागि सहजीकरण गरिन्छ । कर प्रणालीलाई पनि सरलीकृत गर्ने गरी काम अघि बढ्दै छ’, उनले भने ।

 

कोरोना महामारी मत्थर भएपछि पर्यटन क्षेत्र चलायमान हुन लागेको र आन्तरिक पर्यटन विस्तार गर्न सकिने क्षेत्र धेरै रहेकाले आवश्यक योजना तथा कार्यक्रम ल्याइन थालेको शर्माले बताए । 


‘पहिलो पटक राज्यको तर्फबाट गरिब परिवारलाई १० हजार रुपैयाँका दरले राहत दिने प्रक्रिया सुरु भएको छ । तरलता अभावले पुनर्कर्जा नपाइरहेको अवस्था हो भने त्यसलाई सम्बोधन हुने गरी सरकारले काम गर्छ’, अर्थमन्त्री शर्माले भने । 


७ प्रतिशत आर्थिक वृद्धि दरको लक्ष्यलाई बेमौसमी वर्षाले असर पार्ने देखिएको उनको भनाइ छ । ‘खर्बौंको पूर्वाधार क्षति भयो, अर्बौंको अन्नबालीमा क्षति भयो । धानबाली क्षतिबापतको रकम व्यवस्था गर्न साढे ७ अर्ब रुपैयाँ बजेट थप खोज्नुपर्ने अवस्था आएको छ’, शर्माले भने । 


कार्यक्रममा उद्योगी व्यवसायीले कोभिड–१९ बाट थलिएको उद्योग व्यवसाय क्षेत्रलाई राहत मिल्ने गरी सरकारले थप कार्यक्रम ल्याउनुपर्ने, बैंकिङ क्षेत्रको अराजकता नियन्त्रण गरी ऋणको ब्याजदर घटाउपनुपर्ने, पोखरा विमानस्थल निर्माण छिटो सम्पन्न गर्नुपर्ने, कर्जा वितरणलाई सहज बनाउनुपर्नेलगायत माग राखेका थिए ।