close

बाढीले पक्की पुल बगाएपछि सिगासबासीलाई काठेपुलको भर

बाढीले पक्की पुल बगाएपछि सिगासबासीलाई काठेपुलको भर

Trulli
ADVERTISEMENT

बैतडी–कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाका कारण नदीमा आएको बाढीले पुल बगाएपछि सिगास गाउँपालिका वडा नम्बर ६ र ७ का बासिन्दाले काठेपुल निर्माण गरेका छन् ।

 

न्वाघरी गाड नदीमा बनाइएको आरसिसी पुल बाढीले बगाएपछि स्थानीयले २ वटा काठेपुल निर्माण गरेका हुन् । नदीबाट आउजाउ गर्न तत्काल अन्य व्यवस्था नभएकाले काठेपुल निर्माण गरिएको सिगास गाउँपालिका वडा नम्बर ६ का स्थानीय डम्मर साउदले जानकारी दिए ।

 

विद्यालय जाने बाटोको पुल बगाएपछि स्थानीयले काठेपुल निर्माण गरेको उनले बताए । उनले भने, ‘कात्तिक पहिलो साताको बेमौसमी वर्षाले आरसिसी पुल बगाएपछि आउजाउमा समस्या भयो । बालबालिकालाई विद्यालय जानसमेत समस्या भएपछि पुल निर्माण गरेका हौँ ।’

 

नदीमा आएको बाढीले दुई ठाउँका आरसिसी पुल बगाएपछि दुवै ठाउँमा काठेपुल निर्माण गरिएको स्थानीय शिक्षक पदम साउदले बताए । उनले भने, ‘वडा नम्बर ७ का विद्यार्थीको गणेश माविमा आउने बाटोमा पर्ने पुल बगाएपछि स्थानीयले मिलेर काठेपुल निर्माण गरेका छन् । अहिले सोही पुलबाट आउजाउ भइरहेको छ ।’

 

गणेश माविमा अध्ययनरत बालबालिका र शिक्षकलाई न्वाघरी नदीमा पुल नहुँदा विद्यालय पुग्न मुस्किल भएपछि पुल निर्माण गरिएको वडा नम्बर ७ का शंकरदत्त अवस्थीले बताए । 

 

उनले भने, ‘नदीमा पुल नहुँदा हामीलाई पालिकासम्म जानसमेत समस्या थियो । त्यसैले तत्कालका लागि काठेपुल निर्माण गरेका हौँ ।’