close

नुवाकोट र गोरखामा ५० हजार आवास पुनर्निर्माण

नुवाकोट र गोरखामा ५० हजार आवास पुनर्निर्माण

Trulli
ADVERTISEMENT

काठमाडौं– भारत सरकारको सहयोगमा नुवाकोट र गोरखामा ५० हजार आवास पुनर्निर्माण सम्पन्न भएको छ । भारतीय दूतावासले काठमाडौंमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, यूएनडिपी र यूएनओपिएसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा भारतको सहयोगमा नुवाकोट र गोरखामा ५० हजार आवास पुनर्निर्माण सम्पन्न भएको जानकारी गराएको हो । 


कार्यक्रममा भारतीय दूतावासकी नियोग उपप्रमुख नागम्य खम्पाले भारत सरकारले प्रतिबद्धता जनाएअनुरूप ५० हजार निजी घर पुनर्निर्माण सम्पन्न भएको बताइन् । नेपाललाई भारतले पुनर्निर्माणमा सहयोग गरिरहेको बताउँदै गोरखा, नुवाकोट र काठमाडौंलगायत क्षेत्रका साँस्कृतिक सम्पदा पुनः निर्माणमा सहयोग गरिरहेको जानकारी दिइन् ।

 

उपप्रमुख खाम्पाले नेपाल सरकारले अपनाएको घरधनी लक्षित पुनर्निर्माण पद्धतिअनुसार सम्पन्न भएको बताइन् । कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भारत सरकारको सहयोगप्रति धन्यवाद दिए । भारत सरकारले नेपाललाई पुनर्निर्माणका लागि धेरै स्थानमा सहयोग गरेको उनको भनाइ छ ।

 

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले गोरखा र नुवाकोटका ४ नगरपालिका र १४ गाउँपालिकाका भूकम्प प्रभावित लाभग्राहीलाई सामाजिक–प्राविधिक सहजीकरण तथा परामर्श सेवा उपलब्ध गराउन सन् २०१८ मा भारत सरकारले युएनडिपी र युएनओपिएसलाई परियोजनामा संलग्न गराएको बताए ।


उनले १०० मिलियन डलर अनुदान र चौथो लाइन अफ क्रेडिटअन्तर्गतको ५० मिलियन डलरसहित ५० हजार घर पुनर्निर्माणका लागि आर्थिक र प्राविधिक सहयोग प्रदान गर्न आवास क्षेत्रमा भूकम्पपछिको सहायता प्याकेजको रूपमा भारतले १५० मिलियन डलरको प्रतिवद्धता जनाएअनुरूप काम सम्पन्न भएको जानकारी दिए ।