close

चार वर्षमा ९ वडाका कार्यालय भवन निर्माण 

चार वर्षमा ९ वडाका कार्यालय भवन निर्माण 

Trulli
ADVERTISEMENT

कास्की– पोखरा महानगरपालिकाले चार वर्षमा ९ वटा वडा कार्यालयका भवन बनाएको छ । गएको स्थानीय तह निर्वाचनपछि महानगरका ३३ वडामध्ये भवन नभएकामा नयाँ भवन निर्माण तथा अन्यको स्तरोन्नति गरिएको महानगरले जनाएको छ । 


 
वडा भवन निर्माणलाई प्राथमिकतामा राखेको महानगरले निर्माण गरेका भवन सुविधासम्पन्न र आधुनिक रहेका छन् । केहीमा विद्युतीय भर्‍याङ राखिएको छ । अपाङ्गतामैत्रीसमेत छन् । भवनभित्रै पार्किङको सुविधा छ । हालसम्म वडा नं २, ७, ११, १२, १६, १९, २२, ३० र ३२ मा नयाँ भवन निर्माण गरिएको महानगरका सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिए ।

 

वडा नं ८ र १८ मा भवन निर्माणका लागि शिलान्यास भइसकेको छ । वडा नं ६, १७ र २६ का भवन निर्माण प्रक्रिया थालिएको छ । महानगरले सबै वडाका भवन निर्माणमा जोड दिए पनि कतिपय वडामा जमिन प्राप्त नहुँदा पुरानोलाई स्तरोन्नति गरिएको बताइएको छ ।

 

सूचना अधिकारी पौडेलले भने, ‘जमिन प्राप्त भएका अधिकांश वडामा भवन निर्माण सम्पन्न गरेका छौँ । केहीको प्रक्रिया सुरु भएमा छिट्टै शिलान्यास गर्छौँं । अन्यको हकमा स्तरोन्नति गरेर सहज रुपमा सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ ।’ महानगरले वडा कार्यालयका भवनसहित आफ्नो प्रशासकीय भवन निर्माणको प्रक्रियासमेत अघि बढाएको छ ।

 

महानगरको मुख्य भवन निर्माण गर्न जमिन खोजीमा चार वर्ष खर्चिएकोमा हालै पोखरा–९ नयाँ बजारस्थित दमकलमार्गमा सुविधा सम्पन्न र अत्याधुनिक प्रशासकीय भवन निर्माण सुरु गरिएको हो । महानगरको आफ्नै चार रोपनी क्षेत्रफलमा भवन बन्ने महानगरले जनाएको छ । हालको भवन साँघुरो हुँदा महानगरका अन्य विषयगत शाखा कार्यालय पोखराका विभिन्न ठाउँमा राख्नुपर्ने बाध्यता हुँदा सेवाग्राहीलाई झन्झट भएको छ । 

 

‘अन्डरग्राउण्ड पार्किङ’ सहितको पाँच तलाको भवन  १९ करोड पाँच लाखमा  निर्माण सम्झौता गरिएको छ । गत असोज १० गते आगामी १८ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी भूमि बुद्ध/ओम बुद्ध जेभी विराटनगरसँग प्रशासकीय भवन निर्माणको ठेक्का सम्झौता गरिएको महानगरका वरिष्ठ इञ्जिीनीयर पूर्णबहादुर गुरुङले बताए ।